पोखरामा वडासदस्य सहित तीन जना अपहरण काण्डमा पक्राउ

पोखरा,१३ भदौ। पोखरा महानगरपालिका–२३ का निर्वाचित वडा सदस्य ४५ वर्षीय भरतराज भण्डारी सहित तीन जना अपहरण तथा शरीर बन्धक सम्वन्धी अभियोगमा पक्राउ परेका छन् ।

सोही वडा बस्ने २९ वर्षीय महादेव सापकोटालाई अपहरण गरी बन्धक बनाएको अभियोगमा वडा सदस्य भण्डारी सहित काठमाडौँ किर्तिपूर नगरपालिका–४ घर भई हाल पोखरा–२३ बस्ने निर्माण व्यवसायी ४२ वर्षीय बसन्त लामा तथा पोखरा–२३ घर भएका सुपरभाइजर ४५ वर्षीय टीकाराम भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनीहरुलाई अपहरण तथा शरी बन्धक सम्बन्धी कसूर र सङ्गठित अपराध मुद्धामा जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।गत भदौ आठ गते दिउसो सापकोटालाई सो समूहले खहरेखोला स्थित निर्माणाधिन पुलबाट नियन्त्रणमा लिई कुटपिट गरी मोवाईल खोसी अपहरण गरी बा १४ च ८२७९ नं.को कारमा राखेर प्रतिवादी लामाको फ्ल्याटमा थुनी बन्धक बनाएको प्रहरीले जनाएको छ ।

बिहीबारमात्र घटनाका बारेमा जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी परिचालित गरी पीडित सापकोटाको उद्धार गरी घटनामा सङ्लग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रनाउ हमालले बताए। प्रहरीले घटनामा प्रयोग भएको सेतो रङ्गका क्रेटा गाडीसमेत बरामद गरिएको जनाएको छ ।

पेशाले ड्राइभर रहेका पीडित सापकोटाले निर्माण व्यवसायी लामाको श्रीमतिलाई एक दिन घरबाट माइतीसम्म गाडीमा राखेर पु¥याईदिएकामा लामाले शङ्काको दृष्टिले हेरेर उनलाई अपहरण गरी बन्धक बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

Comments
Loading...