राहत लिएर बाग्लुङ उडेका गृहमन्त्री थापा पोखराबाटै काठमाडौँ फिर्ता

पोखरा,१८ भदौ। बाग्लुङको ढोरपाटन नगरपालिकामा गएरातिको बाढीबाट प्रभावितका लागि राहत सामग्री लिएर उडेको गृहमन्त्री रामबहादुर थापा सहितको टोली पोखराबाटै काठमाडौँ फिर्ता भएको छ ।प्रतिकूल मौसमका कारण हेलिकप्टर बाग्लुङ जान नसकेपछि पोखरा विमानस्थलमा अवतरण गरेको थियो ।

मौसममा सुधार नभएपछि गृहमन्त्री सहितको टोली पोखराबाटै काठमाडौँ फर्किएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । विमानस्थलमा १२ः३० बजे अवतरण गरेको हेलिकप्टर एक घण्टा पोखरामा रहेको थियो ।

“मन्त्रीज्यू सहितको टोली मौसम खुल्ने प्रतिक्षामा पोखरा विमानस्थलमा रहेपनि मौसम सुधार नहुँदा काठमाडौँ फर्किनुभयो ।” प्रजिअ ढकालले भने ।
टोलीमा बाग्लुङबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल लगायत रहेका थिए ।

ढोरपाटनको तीन वडाको तटिय बस्तीमा भूजी खोला पस्दा १४ जनाको मृत्यु तथा ३९ जना बेपत्ता भएका छन् ।

Comments
Loading...