वातावरण दिवसको अवसरमा बैदामका डिभाइडरमा रोपियो फूलका बिरुवा

हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं ६ कृषि सञ्जालले सडक डिभाइडरमा रहेका फूलका विरुवालाई काटछाँट र गोडमेल सहित फूलका बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ ।

आज विश्व वातावरण दिवसको अवसरमा कृषि सञ्जाल पोखरा ६ बैदामको आयोजना र पोखरा महानगर पालिका वडा नं ६ को प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

बुलौदी खोला देखी हल्लन चोक सम्म रहेको करिब २ कि.मी सडक डिभाइडर मा रहेका फूलका बिरुवाहरू लाई काटछाँट सहित गोडमेल गरि बिभिन्न प्रजातिका करिब ३ सय बिरुवा रोपिएको संञ्जालकी अध्यक्ष वृन्दा धरेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं– ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारालाई सार्थक बनाउन विश्व वातावरण दिवसको अवसरमा बिरुवा गोडमेल र काटछाँट गरि फूलका बिरुवा रोपिएको बताउनुभयो । हरियाली सडक डिभाइडर  र पर्यटकीय आकर्षित स्थान बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडाध्यक्षले बताउनुभयो ।

अध्यक्ष वृन्दा धरेलले पर्यटकीय राजधानी पोखराको लेकसाइडमा रहेका फूलका बोटबिरुवाहरूले पर्यटकहरूको ध्यान तान्ने गरेकोमा खुशी व्यक्त गर्दै, संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

पोखरा महानगर पालिका वडा नं–६ का निवर्तमान वडा अध्यक्ष जगत बहादुर पहारीले वातावरण स्वच्छ भए हाम्रो जीवन पनि स्वस्थ हुन्छ तर प्रायः मानिस वातावरणीय स्वच्छता जस्तो अति संवेदनशील क्षेत्रप्रति मौन वा अनुत्तरदायी बनिदिँदा जगल र बोटविरुवा मासिदै गएको विचार व्यक्त गर्नुभयो ।

सचिव चन्द्रकला घिमिरे पहारीले वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको बताउनुभयो ।  यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट भएर अगाडि वढ्नु पर्ने बताउनुभयो ।

दिवसको अवसरमा बोटविरुवा संरक्षण कर्मी जगनाथ तिमिल्सिनालाई सम्मान गरिएको थियो । कार्यक्रममा बैदाम क्षेत्रमा रहेको विभिन्न सङ्घ संस्थाहरूको उपस्थिति रहेको थियो ।

Comments
Loading...