टेवानद्वारा पर्यटनकर्मी तुलाचन र गुरूङ पुरस्कृत

हिमाली आवाज । यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका २ जना पर्यटनकर्मी पुरस्कृत भएका छन् ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन अवसरमा बिहीबार आयोजित समारोहमा अग्रज पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङ पुरस्कृत हुनुभयो ।

संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उहाँहरुलाई नगद १५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गर्नुभयो । सो अवसरमा संस्थाको स्मारिका ‘परिकल्पना’ पनि विमोचन गरियो ।

पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा उहाँकी श्रीमती तुमला श्रेष्ठले अक्षयकोष स्थापनाका लागि गत वर्ष ५ लाख ५१ हजार १११ प्रदान गर्नुभएको थियो । यस वर्ष १ लाख थप गर्नुभयो । सोही अक्षयकोषबाट बर्सेनि पुरस्कार दिँदै जाने योजनाअनुरुप पहिलोपल्ट सो पुरस्कार तुलाचन र गुरुङलाई दिइएको टेवान अध्यक्ष कमला गिरीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

प्रतिभा छनोटका लागि सञ्जयकान्त सिग्देलको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । ड्रागन होटलका संचालक ८१ वर्षीय तुलाचन पोखराको पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका नक्षत्र हुनुहुन्छ ।
यस्तै, दक्षिण एशियाकै पहिलो पर्यटन गाउँ सिरुबारीमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएकी ३६ वर्षीया उर्मिला गुरुङ उदाहरणीय युवा हुनुहुन्छ ।
कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले टेवानको गतिविधिको प्रशंसा गर्नुभयो । उहाँले लगानीका लागि निजी क्षेत्रलाई रातो कार्पेट ओेछ्याएर स्वागत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश सभा सदस्यद्वय प्रकाश बराल र सरस्वती गुरुङले पोखराको पर्यटन विकासमा टेवानको महत्वपूर्ण भूमिका रहेको भन्दै सरकारबाट सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पर्यटन संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै राज्यले पर्यटन विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कास्की प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गण्डकीका प्रेस रजिष्ट्रार बिमला भण्डारी, पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, प्रतिभा छनोट समिति संयोजक सञ्जयकान्त सिग्देल, सल्लाहकार टीकाराम सापकोटा, बोबरजंग गुरुङ, पुरस्कृत व्यक्तित्व तुलाचन र गुरुङलगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

विभिन्न गतिविधि गरेर संस्थाको उचाइ माथि पु¥याएकोमा अध्यक्ष कमला गिरीलाई सबै कार्यसमितिका पदाधिकारी र सदस्यले भव्य सम्मान गरेका थिए ।
उत्कृष्ट कार्य गरेकोमा कार्यसमिति सचिव शोभा पौडेल अधिकारी, कोषाध्यक्ष कमला गुरुङ, सदस्यद्वय शारदा लम्साल, शान्ता सुवेदी तिमिल्सिनालाई सम्मान गरियो । पत्रकारितामार्फत पर्यटन क्षेत्रको उन्नयनमा योगदान दिएकामा पत्रकार विश्व भण्डारी र विजय नेपाललाई प्रशंसापत्र प्रदान गरियो ।
संस्था अध्यक्ष कमला गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव अनिता खड्का भट्टराई र धन्यवाद ज्ञापन सचिव शोभा पौडेल अधिकारीले गर्नुभएको थियो ।

पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियता २०७४ सालमा टेवान स्थापना भएको हो । संस्थामा हाल १४० सदस्य छन् ।

Comments
Loading...