हिमाली आवाज । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आठ हजार कलश वितरण गरिएको छ ।
गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले हिमाली आवाजलाई जानकारी दिनुभयो । उहाँका अनुसार अव केही जल सहितको कलश रहेको हुनाले सचिवालयमा सम्पर्क गरेर भक्तजनले लैजान सक्नेछन् ।
धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भक्तजनले हवन समापन पछि पैसा तिरेर जल सहितको कलश लिएर गएका हुन् । एउटा कलशको १ हजार ३ सय र दुई वटा लैजाँदा २ हजार ५ सय रुपैयाँ लाग्ने छ । कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो ।
यज्ञको पूर्णाहुतिसँगै आजबाट भष्म र तिलक वितरण गर्ने भनिएता पनि लामो समयको होमनका कारण तातो भएर वितरण गर्न सकिएको थिएन । अव ३१ गते नै इट्टा, भष्म र तिलक सहित प्रसाद वितरण गरिने महायज्ञ प्रचार प्रसार संयोजक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ ।
कोटिहोममा आज भागवत मञ्जरी राधिका दासीले सहभागिता भक्तजनलाई प्रसाद वितरण गर्नुभयो । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराजले गण्डकी कोटिहोममा यही जेठ ३१ गते सम्म प्रवचनात्म कार्यक्रमहरू भइरहेको हुँदा विश्वविख्यात कथा वाचक वाचिकाहरुको मुखारविन्दबाट अमृतरूपी कथा श्रवणपान गर्न नछुटाउन सबैलाई आग्रह गर्नुभयो ।