कास्कीमा असारदेखी नदी तथा खानीजन्य पदार्थको उत्खनन बन्द गरिने

हिमाली आवाज । कास्की जिल्लामा नदी तथा खानीजन्य पदार्थको उत्खनन् तथा संकलन तीन महिनाका लागि बन्द हुने भएको छ ।
नदीजन्य तथा खानीजन्य पदार्थको जिल्ला अनुगमान समितिको आजको बैठकले यही असार १ देखी आगामी भदौ मसान्तसम्म उत्खनन्मा रोक लगाउने निर्णय गरेको समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ढुङ्गा, गिटी ,बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को कानुनी प्रावधान अनुसार सो निर्णय गरिएको हो ।
सो मापदण्ड अनुसार असार ,साउन र भदौ महिनामा उत्खनन तथा सङ्कलन कार्य गर्न नपाइने उल्लेख छ । समन्वय प्रमुख अधिकारीले सो निर्णय कडाइका साथ कार्यान्वयन गरिने बताउनुभयो ।

विकास निर्माणका काममा बाधा नपुग्ने गरी विद्यमान कानुन र मापदण्डको पालना गर्नुको विकल्प नरहेकाले निर्णय कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानीय तहहरुलाई आग्रह गरिएको छ ।

जिल्ला समन्वय प्रमुख अधिकारीले भन्नुभयो,“वर्खायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने प्रावधान छ । यसको अवज्ञा गरेमा कानुन अनुसार कडा कारवाही हुनेछ । व्यवसायी, आपूर्तिकर्ता र सरोकारवालाहरू सहित आम जनसमुदाय सचेत हुँदै निर्णयको कार्यान्वयन र मापदण्डको पालनामा सरिक हुन आग्रह गरेका छौँ । ”

बैठकले नदीजन्य पदार्थको मौज्दात आर्थिक वर्षको अन्त्य सम्म शुन्य गर्नुपर्ने र सो हुन नसकेमा बाकी मौज्दात सम्वन्धित पालिकाले जफत गरी लिलाम गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गर्न जिल्लाका सम्पूर्ण पालिकालाइ अनुरोध समेत गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बताउनुभयो ।

यसैगरी जिल्लामा सञ्चालनमा रहेका खानी ,क्रसर तथा प्रसोधन उद्योगहरुले असार मसान्त भित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सार्वजनिक गर्नुपर्ने भएको छ ।

साथै सो को जानकारी सम्वन्धित पालिका र अनुगमन समितिलाई दिनुपर्ने व्यवस्थालाई समेत कडाइका साथ अनुगमन गरिने निर्णय भएको बरालले बताउनुभयो ।

Comments
Loading...