एपिएफ क्लबलाई ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबलको उपाधि

हिमाली आवाज । पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्धेश्शीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा निरास पार्दै एपिएफ च्याम्पियन बन्यो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को अङ्कमा हराउन सफल भयो ।
यससँगै प्रतियोगिताको उद्घाटन खेलमा पुलिससँग बेहोरेको हारको बदला समेत एपिएफले फाइनलमा लिएको छ ।

च्याम्पियन बनेको एपिएफले रु छ लाख सहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता पुलिसले रु तीन लाख पुरस्कारमा चित्त बुझायो ।
यसैगरी प्रतियोगितमा टिप टप न्यू डायमण्ड क्लबले तृतीय बनेर रु एक लाख पुरसकार पायो । डायमण्डले आजनै भएको तृतीय स्थानको खेलमा एभरेष्ट भलिबल क्लबलाई २५–८, २५–१९ र २५–११ को सेटमा हराएको हो ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी निरुता ठगुन्ना घोषित हुँदै रु ३० हजार पुरस्कार पाउनुभयो ।

उत्कृष्ट सेटरमा एपिएफकी जसना महतो, स्पाइकरमा पुलिसकी उषा भण्डारी, सर्भर एपिएफकी सृृष्टि खड्की, ब्लकर न्यू डायमण्डकी सुमित्रा रेग्मी,लिब्रोमा डायमण्डकी सलिना श्रेष्ठ र प्रशिक्षकमा एपिएफका पुष्पजंग मल्ल घोषित हुँदै जनही रु २० हजार पुरस्कार पाउनुभयो ।

प्रतियोगिताको च्याम्पियन टोली तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई पूर्वमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री सत्या पहाडी, गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, आयोजक नेपाल स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइराला लगायतले पुरस्कार वितरण गर्नुभयो ।

यही जेठ २७ गतेदेखी सुरु भएको प्रतियोगितामा छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । नेपाल स्पोर्टस् एकेडेमीले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को नाममा पहिलो पटक महिला भलिबल प्रतियोगिता गरेको हो ।

Comments
Loading...