कांग्रेस-एमालेको विवादका कारण मादीको गाउँसभा स्थगित, बजेट समेत अनिश्चित

हिमाली आवाज । कास्कीको मादी गाउँपालिकाको सोमबार सुरु भएको १७ औँ गाउँसभा स्थगित भएको छ ।गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले आगामी वर्ष २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेपछि काँग्रेस र नेकपा(एमाले)बाट निर्वाचित सभा सदस्यहरुबीचको विवादका कारण सभा अनिश्चित कालका लागि स्थगित भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहनुभएका सदस्य सचिव धनेन्द्र भुजेलले सूचना प्रकाशित गरी सभा अनिच्ति कालका लागि स्थगित गरिएको जानकारी दिनुभयो । गाउँसभा अनिश्चित भएसँगै पालिकाको आगामी वर्षको बजेट समेत अनिश्चित बनेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले असार १० गतेभित्र बजेट कार्यक्रम ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ । अध्यक्ष गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने गाउँसभा सदस्य पार्वती रानाले उपाध्यक्ष कल्पना गुरुङका कारणले समयमै गाउँसभा बैठक सूरु नभएको लगायतको आरोप लगाएपछि एमालेका सभा सदस्यहरु माधव सापकोटा र दीपक क्षेत्रले नियमापत्ति जनाएपछि बैठक रोकिएको थियो ।

रानाले बोलेको विषय गाउँसभाको रेकर्डबाट हटाउनुपर्ने माग एमालेको थियो । त्यसपछि बसेको सर्वदलीय बैठकमा रानाले बोलेका विषय फिर्ता लिने र गाउँसभा सुरु गर्ने सहमति भएर रानाले फिर्ता लिएपनि एमालेका सभा सदस्यहरुले सभा सुरु गर्न तयार नभएपछि अनिश्चित कालका लागि स्थगित भएको स्रोतले जनाएको छ ।

Comments
Loading...