हिमाली आवाज । पोखरा महानगरपालिका नगर युवा परिषदले पोखराका पत्रकार अमृत सुवेदीसहित विभिन्न क्षेत्रका ६ जनालाई वर्ष उत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।
पोखरालाई कार्यक्षेत्र बनाएर विभिन्न ६ क्षेत्रमा क्रियाशील ४० वर्ष मुनिका युवाहरुमध्ये अनलाइनखबरका गण्डकी ब्युरो प्रमुख सुवेदीसहित पुरस्कृत हुनुभयो ।उहाँहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्यले नगद ३० हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गर्नुभयो ।

पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेश ब्युरोबाट पत्रकारिता गरिरहनुभएका सुवेदीलाई युवा शसक्तीकरण तथा पत्रकारिता क्षेत्रबाट पुरस्कृत गरिएको हो । सामाजिक तथा सरसफाइ क्षेत्रमा क्रियाशील सन्तोष पौडेल, विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियाशील ब्लाक टेकका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली, कला, साहित्य तथा नाट्य क्षेत्रबाट पोखरा चियटरका सञ्चालक मुक्तिबहादुर कार्की (परिवर्तन) कृषिबाट अर्गानिक ‘हरिलो’ उत्पादन तथा विक्री गर्नुभएकी रोशनी आचार्य, खेलकुद क्षेत्रबाट लङ टेनिशका खेलाडी प्रदीप खड्का पुरस्कृत हुनुभयो ।
गण्डकी विश्वविद्यालयका डिन डा कपिल अधिकारीको संयोजकत्वमा गण्डकी प्रेस रजिस्टार विमला भण्डारी, पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, कानुन व्यवसायी कुञ्जनी प्यासी परियार, पोखरा खेलकुद समितिका उपाध्यक्ष दीपक गोदार, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा ६ जनालाई पुरस्कृत गरिएको पोखरा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।