‘गण्डकी कप’ राष्ट्रिय महिला ह्याण्डबल : एपिएफलाई उपाधि

हिमाली आवाज । पोखरामा सञ्चालन भएको प्रथम ‘गण्डकी कप’ राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

प्रदेश खेलकुद परिषद र जिल्ला ह्याण्डबल संघको आयोजनामा पोखरा रङ्गशालास्थित ह्याण्डबल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३१–१७ गोलले हराउँदै एपिएफ च्याम्पियन बन्यो ।

उपाधि जितेको एपिएफले रु एक लाख नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पायो भने उपविजेता बनेको आर्मीले रु ५० हजार प्राप्त गरेको छ ।

शनिबारनै सम्पन्न भएको सेमिफाइनलको खेलमा एपिएफले कोशी प्रदेशलाई २३–२ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो भने । आर्मीले गण्डकीलाई २१–१२ ले हराएका थियो ।

यसैगरी तेस्रो स्थानको लागि भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै नगद रु ३० हजार हात पार्न सफल भयो ।  सान्त्वना भएको गण्डकीले रु २० हजारमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा घोषित हुनुभयो  । यस्तै एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफकै सुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित हुँदै जनही नगद रु पाँच हजारका साथमा ट्रफी तथा प्रमाणपत्र पुरस्कार पाउनुभयो ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, ह्याण्डबलका पूर्व मुख्य प्रशिक्षक हिमाल दाहाल, एपिएफ नं ४ बाहिनीपति डिआइजी दीपेन्द्र शाह, भूपू खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङ लगायतले नगद, मेडल, ट्रफी तथा प्राणपत्र वितरण गर्नुभयो ।

यही जेठ १२ गतेदेखी सुरु भएको प्रतियोगितामा कूल आठ  टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेश सहभाथी थिए ।

यस्तै विभागीय टोली एपीएफ र आर्मीको सहभागिता रहेको प्रतियोगिता ‘लिगकम नकआउट’को आधारमा खेलाइएको थियो ।

Comments
Loading...