कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

हिमाली आवाज । जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ ।जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा सोमबार पोखरामा एक कार्यक्रमकाबीच गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सो घोषणा गर्नुभयो ।

प्रादेशिक जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए÷नपाएको अनुगमन र घरधुरी सर्वेक्षण गरेपछि जिल्लाका पाँच वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई घोषणा गरिएको हो ।
“जिल्लाका नियमित खोप लगाउने सम्पूर्ण बालबालिकालाई पूर्ण रूपमा नियमित खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो । ” नेपालीले भन्नुभयो ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ किसिमका खोप प्रदान गर्ने गरिन्छ ।जिल्लामा यस वर्ष सर्वेक्षणका क्रममा पोखरा महानगर, रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा १६ देखी २३ महिनासम्मका चार हजार सात सय ६२ बालबालिका फेला परेका थिए । त्यस मध्येमा चार हजार सात सय १६ जनाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएको थियो ।

विभिन्न कारणले खोपको मात्रा पूरा नगरेका र छुटेको भेटिएका ४६ जना बालबालिकालाई खोपको सबै मात्रा लगाएर पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख नेपालीले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री पाठकले नागरिकलाई चेतनाको वृद्धि गराई रोगबाट सुरक्षित राख्न प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो।
उहाँले भन्नुभयो,“सर्ने र नसर्ने दुवै रोगबाट नागरिक सुरक्षित भए मात्र समृद्धिको यात्रा सहज हुन्छ । प्रदेश सरकार मातहतका अस्पतालहरू स्तरोन्नतिसँगै अस्पतालहरूको क्षमता वृद्धि तथा सेवा–सुविधा तथा नागरिक स्वास्थ्य कार्यक्रमहरूलाई अघि बढाइएको छ ।”

स्वास्थ्य जनशक्ति प्रदेशमै उत्पादन गर्न र प्रदेशमा विशिष्टीकृत अस्पताल सञ्चालनको तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो।
प्रदेशलाई आवश्यक मानव स्रोतसहित अन्य सेवाको व्यवस्थित सञ्चालनमा सरकार केन्द्रीत रहेको पनि बताउनुभयो।

जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुद्ध सेवा भावबाट उत्प्रेरित स्वयंसेविका, सरकारी संयन्त्र र आम कास्कीबासीको सहयोगबाट पूर्ण खोप सुनिश्चितता सम्भव भएको भन्दै आरोग्य र स्वस्थ कास्कीबासी निर्माणको आधार तयार हुँदै गएको बताउनुभयो। सो अवसरमा ६० वर्ष उमेर पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसहित विदाइ पनि गरिएको थियो ।

Comments
Loading...