भत्ता नविकरण गर्न आउने ज्येष्ठ नागरिकको पोखरा–१२ ले गर्यो निःशुल्क प्रेसर–सुगर परीक्षण

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नम्बर १२ ले सामाजिक सुरक्षा भत्ता नविकरण गर्न आउने ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ । वडा कार्यालयले भत्ता नविकरणका क्रममा आउने नागरिकहरूको सहुलियतका लागि प्रेसर र रक्तमा सुगर परीक्षण सेवा निःशुल्क रूपमा प्रदान गरिरहेको छ ।

कार्यक्रमको उद्देश्य ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्न सहयोग गर्नु र समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको वडा अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिनुभयो । उहाँले भत्ता नविकरण जस्ता सेवा लिन आउँदा साथमा स्वास्थ्य परीक्षण सेवा पनि पाउँदा नागरिकहरूलाई सहजता भएको बताउनुभयो।

वडा कार्यालय परिसरमै सञ्चालित उक्त परीक्षण सेवामा हालसम्म सयौँ ज्येष्ठ नागरिकहरूले लाभ लिइसकेको वडा सचिव शारदा सापकोटाले बताउनुभयो । वडा सचिवका अनुसार, यो सेवा साउन महिनाभरि भत्ता नविकरण कार्यक्रमसँगै जारी रहनेछ । वृद्धवृद्धा र सेवाग्राहीहरू यस कार्यबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएको वडा कार्यालयले जनाएको छ ।

स्थानीय स्तरमा यस किसिमका साना तर प्रभावकारी कार्यक्रमहरूले समुदायमा जनस्वास्थ्यप्रति चेतना बढाउने विश्वास स्वास्थ्य स्वयंसेविका संयोजक इन्दिरा पन्तले बताउनुभयो ।

स्वास्थ्य स्वयंसेविका एवंम स्वास्थ्यकर्मीहरूको समन्वयमा भइरहेको परीक्षण कार्यले नागरिकहरूलाई स्वास्थ्यप्रति सचेत बनाएको समेत वडा कार्यालयको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ता नविकरण प्रक्रिया साउन महिनाभरि सञ्चालन हुने र सोही अवधिमा निशुल्क परीक्षण सेवा पनि निरन्तर प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।

Comments
Loading...