हिमाली आवाज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पार्टीका सबै केन्द्रीय नेताका छोराछोरीलाई स्वदेशकै सार्वजनिक विद्यालय वा कलेजमा पढाउनुपर्ने निर्णय गर्न लागिएको बताउनुभएको छ ।
अखिल (क्रान्तिकारी)ले बिहीबार काठमाडौंमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले यस्तो निर्णयका लागि अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।
माओवादीले यसअघि नै स्थानीय तहका जनप्रतिनिधिका सन्तानलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने निर्णय लागू गरिसकेको छ ।
अब यो नीति पार्टीको केन्द्रीय तहका नेताहरूमाथि पनि लागू गर्न लागिएको हो ।
‘म पार्टीको सबैभन्दा ठूलो नेता हुँ । मेरा छोराछोरी विदेश पढ्न गएका छैनन्,’ प्रचण्डले भन्नुभयो,‘अब हाम्रो छलफलको निष्कर्षस्वरूप केन्द्रीय नेताहरूले पनि आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा कलेजमै पढाउने, विदेश नपठाउने नीतिगत निर्णय हुँदैछ ।’
प्रचण्डले शिक्षा क्षेत्रमा सार्वजनिक प्रणालीलाई मजबुत पार्न नेताहरूले उदाहरणीय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।