हिमाली आवाज ।बेसहारालाई सहारा भन्ने पवित्र उद्दृेश्यका साथ स्थापित स्वान्तसुखाय परोपकार प्रतिष्ठान पोखराको अध्यक्षमा विष्णु बाटाजु सर्वसम्मत चयन हुनभएको छ ।प्रतिष्ठानको शनिबार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा राजेन्द्र बाटाजु, सचिव दिलीप शर्मा, सहसचिव सुशीला प्रधानाङ्ग र कोषाध्यक्षमा डा. हिमलाल गौतम निर्वाचित हुनुभयो।
यसैगरी सदस्यहरुमा बाबुराम पन्त, श्रीकृष्ण अधिकारी, रीता तिवारी, प्रेमनारायण पोख्रेल, गीता ज्ञवाली र नेत्र ज्ञवाली रहनुभएको छ ।सोही अवसरमा प्रतिष्ठानको स्थापना दिवसको दशौँ वर्ष प्रवेशको पुनित अवसर पारेर संस्थाद्वारा प्रकाशित स्मारिका समर्पणको विमोचन समेत गरिएको छ ।
प्रतिष्ठानको उद्घाटन समारोह निवर्तमान अध्यक्ष तथा वर्तमान संरक्षकको भूमिकामा रहनुभएका प्रा.डा.कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको हो। कार्यक्रमको प्रमुख अतिथिको रूपमा शिक्षाविद् जोर्ज जोन तथा विशेष अतिथिको भूमिकामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. भरत खत्री तथा विशेष अतिथि र समीक्षकको भूमिकामा पृथ्वीनारायण क्याम्पस पोखरा नेपाली विभागका पूर्व विभागीय प्रमुख तथा भाषाविद् यदुनन्दन ढकाल रहनुभएको थियो ।
प्रतिष्ठनका सचिव डा.हिमलाल गौतम तथा डा. चैतन्यराज अधिकारीद्वारा सञ्चालित कार्यक्रमको उद्घाटन पानसमा दीप बालेर गरिएको थियो । बिरौटा केन्द्र पुलचोकमा अध्ययनरत भाइबहिनीहरूले राष्ट्रिय गान गाई अगाडि बढाइएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्र बाटाजूले प्रतिष्ठानको स्ुारुवातको सङ्घर्ष र यसले समाजमा खेलेको भूमिका माथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।
सोही अवसरमा ‘समर्पण’ स्मारिकाको विमोचन गरिएको थियो । पुस्तकका विषय र वस्तुमा केन्द्रित रही समीक्षामा जोडिनुभएको यदुनन्दन ढकालले किताबमा रहेका राम्रा पक्षको प्रशंसा गरी केही विषय र प्रसङ्गमा ध्यान दिन नसकेको जानकारी गराउनुभएको थियो । विशेषगरी विषयसूचीमा सर्जकको नामावली, विषयको प्रकृतिअनुसारको क्रमबद्धतामा ध्यान दिन सकेको भए स्मारिका अझ विशेष बन्न सक्ने धारणा उहाँको थियो ।
सम्पादन मण्डलको तर्फबाट हरिप्रसाद पौडेलले स्मारिकाले समेटेको विषय क्षेत्र तथा पुस्तक ज्ञानको मात्र नभएर अनुभव र अनुभूतिको सङ्ग्रह भएको धारणा व्यक्त गर्नुभएको थियो । यस्तै धर्मस्थली आधारभूत विद्यालयमा अध्ययनरत सन्तोषी कला मगरले आफूले रचेको कविता मेरो लक्ष्य वाचन गरी सबैलाई प्रभावित बनाएकी थिइन् ।
यसै गरी सहारा आधारभूत विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले संस्थाले आफ्नो विद्यायमा गरेको सहयोगको स्मरण गरी आउने दिनमा संस्थाप्रति सहयोगको अपेक्षा रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
त्यसै कार्यक्रमका बिचमा निश्चल बाँस्तोलाद्वारा डिजाइन गरिएको संस्थाको वेवसाइट को उद्घाटन पनि गरिएको थियो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. भरत खत्रीले सेवा, समर्पण र स्मृति नै मानव जीवनका लागि पूर्ण रहेको र आफूले पनि आम्दानीको दश प्रतिशत परोपकारमा लगाएको बताउनुभयो ।
शैक्षिक व्यक्तित्व जोर्ज जनले शिक्षा, परोपकार र मानव जीवनका बिचमा तालमेल मिलेमा मात्र समाज समुन्नत बन्न सक्ने धारण राख्दै संस्थाको प्रगतिको कामना गर्नुभएको थियो । उद्घाटन सत्रमा कोषाध्यक्ष विष्णु बाटाजूले संस्थाको आर्थिक वर्ष २०८१÷२०८२को आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रमका सभाध्यक्षका रूपमा रहनुभएका प्रा.डा.कृष्णकुमार श्रेष्ठले संस्थाको विगतदेखि वर्तमानसम्मको अवस्था, मोड चरण र घुम्तीको स्मरण गर्दै हरेक सानो कार्यले समाजमा ठुलो भूमिका खेल्न सक्ने धारणा राखी पहिलो सत्रको अन्त्य गरी कार्य समिति भङ्ग भएको घोषणा गर्नुभएको थियो ।
दोस्रो चरणको कार्यक्रमको आरम्भ सचिव डा. हिमलाल गौतमद्वारा प्रस्तावित तीन धारा विधान परिवर्तन प्रस्तावद्वारा गरिएको थियो । जसानुसार संस्थापक अध्यक्ष संरक्षक बन्ने, हरेक तीन वर्षमा अधिवेशन गर्ने तथा तीन सदस्यीय सल्लाहकार समिति राख्ने प्रस्तावलाई पूर्ण रूपमा अनुमोदन गरिएको थियो ।