पर्वतीय दौडको अनलाइन दर्ता खुल्यो, पुरस्कार राशी दोब्बरले बढ्यो

हिमाली आवाज । पर्यटनको राजधानी सहर पोखरामा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज ४ गते खुला पर्वतीय दौड हुने भएको छ ।
पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार तथा प्रवद्र्धनका तथा खेल पर्यटन प्रवद्र्धनका लागि दौडको आयोजना गरिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने आठ कि.मी. पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० बर्ष माथिका भेट्टान तर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताउनु भयो । अघिल्लो संस्करणका तुलनामा पुरस्कार राशि दोब्बर गरिएको छ भने दुई इभेण्टमा थप गर्दै प्रोत्साहन पुरस्कार व्यबस्था गरिएको उहाँले जनाउनु भयो ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने भएको छ ।

गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ रहेको थियो । यसैगरी, वडास्तरीय, खुल्ला महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारकोसमेत व्यवस्था गरिएको छ । भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले अनलाइन फराम भर्नु पर्ने छ, अनलाइन फारम आज (सोमबार) देखि खुल्ला गरिएको प्रतियोगिातका निर्देशक ओम लामाले बताउनु भयो । यही भदौं २५ गतेसम्म मात्र धावकहरुले अनलाइन फारम मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । पोखरा क्लिक डटकममा अनलाइन फारम भर्न सकिन्छ ।

पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित ७१ पुरुष र ३३ महिला धावकले अनलाइन फाराम भरेकामा प्रतिकुल मौसमका कारण ७९ जना सहभागी भएकामा खुलातर्फको उपाधि शसस्त्र प्रहरी बल एपीएफ क्लवका निरोज भट्ट क्षत्रीले जित्नु भएको थियो । हरेक व्यक्ति जननी र जन्मभूमिप्रति ऋणी हुन्छन्, त्यो ऋण चुक्ता गरेर नसकिए तापनि जन्मभूमिलाई विश्वमा परिचित गराउने इरादाका साथ पोखरा क्लिकले आफ्नै क्षेत्रलाई सञ्चार र खेल पर्यटनसँग जोडेर प्रवद्र्धन गराउने उद्देश्यले संस्थाको वार्षिक कार्ययोजनानुसार पर्यटकीय राजधानी पोखरामा उक्त प्रतियोगितालाई यस बर्ष पनि भव्य गर्ने तयारी गरिएको पोखराक्लिक डटकमका बरिष्ठ संवाददाता असफल गौतमले बताउनु भयो।

प्रतियोगितालाई सफल पार्न विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स,, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, सहास स्पोट्र्स नेपाल, अटोवेज प्रा.लि., पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, पोखरा भ्रमण बर्ष २०२५, परिचय एड्भर्टाइजिङ, पुइमे फाष्ट फुड एण्ड बार लगायतको सहयोग रहेको छ । प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका छन । प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ को सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरकारूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।

उक्त प्रतियोगिता सभ्य एवम् भव्य रूपमा सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रुपैयाँ खर्च हुने भएको प्रा.लि.का व्यबस्थापक सागर सुनारले बताउनु भयो । प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी ल्याफ्टेनेन्ट कुसाङ गुरुङले प्रायोजन गर्नुभएको छ । उहाँ अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष अवकार प्राप्त ल्याफ्टेनेन्ट कुसाङ गुरुङ मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन तीन पटक लगातार जित्ने कीर्तिमानधारी धावक हुनुका साथै एभरेष्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्न सफल प्रतिभा हुनुहुन्छ । यस्तैगरी नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ ।

पत्रकार सम्मेलनमा वोल्दै पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले उक्त इभेण्टलाई वडाले आफ्नो चार्डको रुपमा लिएको बताउदै यसको स्तरोन्नती गर्न विस्तारै हाफ्म्याराथनसम्म लैजाने योजना रहेको जनाउनु भयो । पुम्दी भुम्दीमा सडक निर्माणसंगै पदमार्गहरु समेत निर्माण भएको तथा ताल पारीको क्षेत्रमा इको टुरिजमको सम्भावनालाई उजागर गर्न राउण्ड फेवा भ्यू फेवा जस्ता परियोजना सुरु भएको उहाँले जनाउनु भयो । पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले उक्त दौडलाई ८ किलोमिटरबाट बढाउदै हाफ म्याराथन हुदै लेकसाइड देखि पन्चासेसम्मको म्याराथन दौड गर्न सुझाव दिनुभयो । तालपारि इको टुरिजमको सम्भावना भएकोले गगन चुम्वी भवनहरु नबनाउन उहाँले आग्रह गर्नुभयो ।

पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष हरि बहादुर भुजेलले विश्व पर्यटन दिवसको अवसरमा हुने उक्त प्रतियोगितामा विदेशी धावहरु बढी भन्दा सहभागि गराउन गराउन पहल गर्ने वचन दिनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पोखरा र पुम्दी भुम्दीलाई विश्व सामु परिचित गराउन उक्त इभेण्टले थप मद्धत पुग्ने बताउनु भयो । विश्व शान्ति स्तुप समितिका अध्यक्ष असोक गुरुङले दौडको सुरुवात शान्ति स्तुपबाट हुने भएकोले आवश्यक व्यबस्थापनमा सहयोग गर्ने बताउनु भयो । प्रतियोगिताका प्राविधिक ओम गुरुङले यसपाली हावा, हुरी र पानी आए पनि प्रतियोगिता निर्धारित समयमै हुने गरी तयारी हुने बताउनु भयो । पोखरा २२ को वडा युवा परिषदका अध्यक्ष दिनेश बरालले प्रतियोगिता गाउँकै नयाँ ब्राण्ड भएकोले सफल पार्न आफुहरु कटिबद्ध रहेको जनाउनु भयो ।

Comments
Loading...