कास्कीमा भेटेरिनरी र कृषिका चालू आवका कार्यक्रम सार्वजनिक

हिमाली आवाज । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की कृषि ज्ञान केन्द्रले चालू आर्थिक वर्षका लागि अधिकाँस पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

भेटेरिनरी कार्यालयले दुध उत्पादनमा प्रोत्साहन, पशुमा पूर्ण खोप कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार लगायतका कार्यक्रम यस वर्ष पनि कार्यान्वयन गर्ने भएको छ ।

यसैगरी पाडी बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, पशुपन्क्षी पकेट विकास कार्यक्रम, नयाँ पोखरी निर्माण र पोखरी सुधारका गत वर्षकै कार्यक्रमलाई चालू वर्ष पनि निरन्तरता दिइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले चालू आर्थिक वर्ष २०८२।०८३ का लागि कूल रु छ करोड ८८ लाख बजेटका कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले दूध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

“दुधमा अनुदान कार्यक्रम सहज रुपमा कार्यान्वयन भइरहेको छ । सहकारीमा बिक्री गरेको आधारमा सहकारीको व्यवस्थापकले ल्याउने डाटाका आधारमा कृषकको खातामा पुग्ने गरी अनुदान दिन्छौँ ।” पाण्डेले भन्नुभयो । गण्डकी प्रदेश सरकारले प्रतिलिटर रु पाँच का दरले अनुदान दिँदै आएको छ ।

गत वर्षमा जिल्लामा व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन् । जिल्लाका दूग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए । प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा अनुदान दिएको हो । भेटेरिनरी कार्यालयले पशुमा पूर्ण खोप कार्यक्रमलाई समेत चालू वर्षमा समेत निरन्तरता दिएको छ । पशुमा पूण खोप कार्यक्रम ८० प्रतिशत किसानकोमा पुग्ने कार्यक्रम रहेको पाण्डेले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले चालू वर्षका लागि रु पाँच करोड ३०लाख ३२ हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि कार्यक्रम केन्द्रीत रहेको जानकारी दिनुभयो । ज्ञान केन्द्रले खाद्य बाली उत्पादन प्रवद्र्धन,बमौसमी तरकारी खेती,फलफूल तथा रैथाने बाली प्रवद्र्धन लगायतका कार्यक्रमलाई चालू वर्षमा कार्यान्वयन गर्ने सिग्देलले बताउनुभयो । उहाँले उत्कृष्ट कृषक सम्मान तथा बजार प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।

कार्यक्रममा गण्डकीका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्मा जिसीले कृषि तर्फको बजेट कम भएपनि भएको बजेट पूर्ण कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफूले कृषक पीडा र पिरमर्का राम्रोसँग बुझेकाले सोही अनुसार किसानको हितमा काम गर्ने जनाउनुभयो ।

कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा पशुपन्क्षी रोग  अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा किरण पाण्डे, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्साल,अग्रज कृषक शोभाखर भण्डारी, पशु विकास अधिकृत सहदेव पौडेल लगायतले चालू वर्षका कार्यक्रम कार्यान्वयनमा सबैको साथ र सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।

Comments
Loading...