जिप्रका कास्कीमा आगजनी गर्ने क्रममा जलेका एक पुरूषको मृत्यु

हिमाली आवाज । पोखरामा जेनजी प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्दा जलेका एक जनाको शनिबार मृत्यु भएको छ ।
यही भदौ २४ गते साँझ प्रदर्शनकारीहरुले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए । सो घटनामा संलग्न रहेका चितवनको भरतपुर महानगरपालिका– १० स्थायी घर भई हाल पोखरा– १६ मा मजदुरी गरी बस्ने ४३ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगो लगाउने क्रममा आफै जलेर घाइते भएका तामाङलाई उनकै साथीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए ।

पोखरामा जेनजी प्रर्दशनका क्रममा हालसम्म तीन जनाले ज्यान गुमाएका छन् । यसअघि दुई महिलाको प्रदर्शनकारीले आगजनी गर्दा जलेर मृत्यु भएको थियो ।

पोखरा नयाँबजारमा रहेको हिमालय अर्गनाइजेसनको अटो सोरूम र लेकसाइडमा रहेको अंशुभरा स्क्वायरमा एक÷एक महिला जलेर निधन भएको अवस्थामा फेला परेका थिए । उनीहरू कामदार थिए ।

जिल्ला प्रहरी कार्यालयले भने सुरक्षाकर्मीको बल प्रयोगबाट अहिलेसम्म कसैको पनि ज्यान नगएको जनाएको छ । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बगर तथा विभिन्न प्रहरी पोष्टहरुमा आगजनी गरेका छन् ।

प्रहरी नायब उपरीक्षक बस्नेतले क्षति पुगेका प्रहरी चौकी तथा पोष्टहरुको सरसफाई गरी सेवा सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

Comments
Loading...