हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका सदस्यको १० लाखको दुर्घटना विमा

हिमाली आवाज । नेपाल हेभी इक्युपमेन्टर अपरेटर संघ कास्कीले आफ्ना सदस्यहरुको रु १० लाखको दुर्घटना विमा गरेको छ । संघले यसअघि समेत सदस्यहरुको विमा गर्दै आएकामा यस वर्ष समेत निरन्तरता दिएको हो ।

दुर्घटना विमा सम्बन्धमा हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष किशोरप्रसाद गौतम र आइटिआइ प्रुडेन्सियल इन्स्योरेन्स पोखरा शाखा प्रमुख जयश्वर श्रेष्ठबीच आज सम्झौता भएको हो ।

सो कार्यक्रममा नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ गण्डकीका अध्यक्ष प्रेमबहादुर थापामगर र संघका आजिवन सदस्य तथा सहयोगी फुर्पा दोर्जे लामा लगायतको उपस्थिति रहेको थियो । संघका अध्यक्ष किशोर गौतमले हेभी इक्युपमेन्टर अपरेटरलाई सरकारले नहेरेको अवस्थामा संघको पहलमा विमा गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो,“देशको विकासका लागि भनेर हामी ठूला इक्युपमेन्ट चलाउँदै आएका छौँ । तर कार्यस्थलमा हाम्रो जीवनको सुरक्षा छैन । केही भइहालेमा हाम्रो परिवारको समेत सुरक्षा छैन, अंगभंग भएर बस्नुपर्ने बाध्यता छ । विमाले थोरै भएपनि सहयोग पुगोस् भनेर यस कार्यक्रमलाई निरन्तरता दिएका हौँ ।”

अध्यक्ष गौतमले आगामी वर्ष सबै सदस्यहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने योजना रहेको समेत सुनाउनुभयो ।
नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीकामा एक सय ७१ सदस्य रहेको र सबैको विमा गरिएको संघका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Comments
Loading...