हिमाली आवाज । अब पोखरामा ट्याक्सी खोज्न बजारमा ठिङ्ग उभिनु पर्दैन। मोबाइल फोनमा बटन थिच्नेबित्तिकै ट्याक्सी घरमै आउँछ। लामो प्रतिक्षापछि पोखराका ट्याक्सी व्यवसायीले आफ्नै मोबाइल एप्समार्फत सेवा सुरु गरेका छन्।
सोमबार एक भव्य समारोहबीच ‘मुभ इन’ एप्स सार्वजनिक गरिएको हो। सुरुवातमै करिब एक हजार ट्याक्सी यस एप्समा जोडिइसकेका छन्। कम्पनीका सिइओ प्रमेश पराजुलीका अनुसार यो एप्स प्रयोग गर्न सजिलो छ, राइड सेयरिङ एप्सजस्तै देखिए पनि यसमा केवल सार्वजनिक ट्याक्सी मात्रै चल्नेछन्।
“नेपालमै बनेको एपबाट पोखराको वरिपरिको क्षेत्रमा आधुनिक ट्याक्सी सेवा दिन थालेका छौँ। यसले पारदर्शी भाडा, सुरक्षित यात्रा र प्रविधिमैत्री सेवा दिनेछ,” पराजुलीले भन्नुभयो । पराजुलीले नेपालकै जनशक्तिले एक वर्षकाे समय लगाएर एप्स तयार पारेकाे जानकारी दिनुभयाे ।
यातायात व्यवसायीहरूले एप्सको शुभारम्भलाई ऐतिहासिक कदमको रूपमा लिएका छन्। उनीहरूको भनाइमा विदेशी एप्सले बजार कब्जा गर्न खोज्दा उनीहरू विरोधमा उत्रिएका थिए, तर स्वदेशमै बनेको ‘मुभ इन’लाई भने सबैले खुलेर समर्थन गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जेनजीको मागअनुसार अब यातायात क्षेत्रमा पनि प्रविधि प्रवेश गरेको बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एवं पृथ्वीराजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष एनकुमार साइले विदेशी एप्सको मात्र विरोध भएको भन्दै “स्वदेशी प्रविधिलाई सबैले प्रवद्र्धन गर्नुपर्छ,” भन्नुभयो ।
यातायात व्यवसायीलाई प्रविधिको विरोधी भन्नु गलत भएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको राइड सेयरिङको विरोधमा आन्दोलन भएको बताउँदै उहाँले विदेशी एपको मात्र आफूहरु विरोधी भएको बताउनुभयो ।

पोखरेली ट्याक्सी सेवा प्रालिका पूर्व अध्यक्ष प्रकाशमणि तिवारीका अनुसार एप्सको प्रयोगसँगै अब यात्रु र चालकबीच हुने भाडा बार्गेनिङको अन्त्य हुनेछ। “समयानुसार व्यवसाय चलाउन हामी तयार छौँ तर राज्यले पनि भाडा समायोजनमा साथ दिनुपर्छ,” तिवारीले भन्नुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले प्रविधिमैत्री भएर सरल र सहज सेवा प्रदान गर्न उद्धत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विदेशी एपले नेपालमा ब्रह्मलुट मच्चाउने गरेको समेत जिकिर गर्नुभयो ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले लामो समयको प्रतिक्षापछि स्वदेशमै बनेको एप प्राप्त भएको भन्दै एप्स नआउँदै स्वयम् व्यवसायी मसेत ठगिएको गुनासो गर्नुभयो ।आफ्नो प्रालिसँग आवद्ध दुई हजार एक सय ट्याक्सी एप्समा जोड्ने घोषणा गर्नुभयो।
ए वान ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलले ए वान ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलले स्वदेशी प्रविधि र लगानीमा बनेका एप्सहरुलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
उहाँले विदेशी एप्सका कारणले यातायात व्यवसायीहरु अप्ठ्यारोमा परेको समेत उल्लेख गर्नुभयो । “यो नितान्त कालो प्लेटको, स्वदेशमै बनेको एप हो। विदेशी एप्सले व्यवसायीलाई अप्ठ्यारोमा पारेका छन्, त्यसैले अब सबै मिलेर आफ्नै एपलाई सफल बनाउनुपर्छ।”
अब पोखरामा मोबाइल एप्समार्फत ट्याक्सी सेवा सुरु भइसकेकाले यात्रुहरूले पारदर्शी भाडा, सहज बुकिङ र सुरक्षित यात्रा अनुभव गर्ने अपेक्षा गरिएको छ।