हिमाली आवाज । विश्व एक स्वास्थ्य दिवसको अवसरमा पोखरामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा मानव, जनावर र वातावरणको स्वास्थ्यका लागि साझा संरचनाको आवश्यकता औँल्याइएको छ । मानव, पशु र वातावरणबीच सन्तुलन र सहकार्य कायम गर्न सके मात्र दीगो स्वास्थ्य र सुरक्षित भविष्य सम्भव हुने निचोड निकालिएको छ ।
पशुपन्क्षीरोग अन्वेषण प्रयोगशाला पोखरामा आयोजित कार्यक्रममा पशु स्वास्थ्य, मानवस्वास्थ्य, कृृषि, खाद्य लगायत क्षेत्रका सरोकारवालाहरुले एक स्वास्थ्यका लागि तथ्याङ्क र सूचना आदानप्रदानमा जोड दिँदै एकीकृत भएर काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
विश्वमा हाल नयाँ सङ्क्रामक रोगहरूको तीव्र वृद्धि, औषधिप्रतिको प्रतिरोध र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा पर्ने असर बढ्दो क्रममा रहेकाले सबै चुनौतीहरू एक–आपसमा जोडिएकाले मानव, जनावर तथा वनस्पतिको स्वास्थ्यसँगै वातावरणीय सन्तुलनमा समेत प्रत्यक्ष प्रभाव पारेको उनीहरुको भनाई छ ।
कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा विश्वराज बरालले मानव स्वास्थ्यमा एन्टीबायोटिककको दुरुपयोग भएको बताउनुभयो । उहाँले एक स्वास्थ्यको नेतृत्व एनिमल हेल्थले गरेको बताउँदै साझा काम गर्न सक्ने सम्भावना औल्याउनुभयो । डा बरालले भन्नुभयो,“डाटा सेयरिङ र इन्फरमेसन सेयरिङ महत्वपूर्ण छ । सबै मिलेर एक स्वास्थ्यका लागि काम गर्नुपर्दछ ।”
पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा किरण पाण्डेले एक स्वास्थ्यका बारेमा गहन छलफल नभएको बताउनुभयो । उहाँले बनाइएको नीतिको समय कार्यान्वयनमा समस्या रहेको औँल्याउनुभयो ।

उहाँले नतिजा दिने कुरामा चुकेको समेत उल्लेख गर्दै डा पाण्डेले भन्नुभयो,“ रोग नियन्त्रण र रोकथामदेखि पहिचान, तयारी, प्रतिक्रिया र व्यवस्थापनसम्म सबै पक्षबीच सहकार्य हुनुपर्छ। कसैले एक्लै यस चुनौतीको सामना गर्न सक्दैन। एक स्वास्थ्यका बारेमा पर्याप्त छलफल हुन सकेको छैन, त्यसैले नतिजा दिने कुरामा चुकेका छौँ । ”
प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराका मेडिकल ल्याब टेक्नोलोजिष्ट दीपा बास्तोलाले साधनस्रोतको कमीले खुम्चिएर काम गर्नुपरेको अनुभव सुनाउनुभयो । “अहिले हामीकहाँ सर्भिलेन्स ग्याप छ । साधन स्रोत कम भएकाले खुम्चिएर काम गर्नुपर्दा एक स्वास्थ्य केवल कागजमा मात्र सीमित भएको छ ।”
वन विज्ञान अध्ययन संस्थान पोखराका सुमन भट्टराईले मानव र वन्यजन्तुकाबीच स्रोतका लागि द्धन्द्ध हुने गरेको बताउनुभयो । उहाँले पर्यावरण संरक्षणमा जोड दिनुभयो ।
कार्यक्रममा तालिम केन्द्रका प्रमुख डा ग्रिष्म न्यौपाने, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनिता पौडेल, प्रदेश कृषि प्रयोगशालाका मीलन आचार्य लगायतले एक स्वास्थ्यका विविध पक्षहरुका बारेमा भनाई राख्नुभएको थियो ।
‘एक स्वास्थ्य’ अवधारणाले मानिस, पशु र वातावरणबीचको घनिष्ठ सम्बन्धलाई औँल्याउँछ। मानव स्वास्थ्य सुरक्षित राख्न पशु र वातावरणीय स्वास्थ्य पनि उत्तिकै जरुरी हुने सन्देश यस दिवस मार्फत दिइन्छ । पछिल्ला वर्षहरूमा फैलिने रोगहरू (जस्तैः बर्ड फ्लु, कोभिड–१९, रेबिज आदि) प्रायः जनावर र वातावरणसँग सम्बन्धित भएकाले यस दृष्टिकोणको महत्व अझ बढेका बताइन्छ ।
नेपालमा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पशु सेवा विभाग र वातावरण संरक्षण संघहरूले संयुक्त रूपमा सचेतना कार्यक्रमहरू, स्वास्थ्य छलफल लगायतका कार्यक्रम गरेर एक स्वास्थ्य अवधारणाबारे जानकारी दिने कार्यक्रमहरू गर्दै आएका छन् ।


