हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने तथा यस क्षेत्रको लगानीलाई सुरक्षित गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले जनताको चाहना अनुसारको यातायात सेवा पु¥याउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो,“ यातायात क्षेत्रमा सम्वद्ध लाखौँ मजदुरको पेशागत सुरक्षा ग्यारेन्टी र जनताको चाहना अनुसार सरल र सुविधायुक्त यातायातको चाहनालाई सम्वोधन गर्ने कार्यभार प्रदेश सरकारको छ । प्रदेश सरकारले बनाउने ऐन कानुनले मात्र यी कुराहरु सम्भव छैन । यसका लागि यस क्षेत्रमा लगानी गर्ने लगानीकर्ता, मजदुर र सरकारको बीचमा सामञ्जस्य र सौहार्दपूर्ण वातावरण आवश्यक छ ।”
मुख्यमन्त्री पाण्डेले यातायात क्षेत्रको सुधारका लागि आवश्यक कानुनी जटिलालाई सरकारले सहज बनाउने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले व्यवसायीको खरबौँको लगानी डुब्न नदिन र लाखौँ रोजगारी खोस्ने कुनै पनि कार्य सरकारले नगर्ने समेत स्पष्ट पार्नुभयो ।
“यातायात क्षेत्र व्यवस्थित र मर्यादिन कसरी बनाउने भन्ने बारेमा सरकारबाट तपाईहरुको अपेक्षा को हो ? पेशालाई सम्मानित बनाउने, व्यवस्थित बनाउने तथा कानुनी जटिलता छने भने त्यसलाई सुधार गर्न सकिन्छ । आफ्नो योजना लिएर आउनुहोस् । कानुनी जटिलता, बाध्यता र जनताको चाहना के छन् त्यसमा छलफल गरौँ र छलफलबाट निकास निकालौँ, प्रदेश सरकार यसमा सँधै खुला छ । ” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले ‘राइड सेयरिङ’ गैरकानुनी रुपमा चलेको भएकाले त्यसलाई प्रदेश सरकारले नियमन गर्न खोजेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“ गैरकानुनी रुपमा चलेको व्यवसायलाई कर र सुरक्षाको दायरामा ल्याउन खोजिएको हो । यसबाट सरकार र व्यवसायीबीच असमझदारी भयो । यातायात क्षेत्रलाई क्रमिक रुपमा प्रविधिमैत्री बनाउनु आवश्यक ।”
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले व्यवसायी कहिल्यै पनि प्रविधिको विरोधी नभएको बताउँदै विदेशी गैरकानुनी एप्सको मात्र आफूहरुको विरोध रहेको बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले सार्वजनिक यातायातका क्षेत्रमा ठोस नीति तथा कानून नबन्दा अन्यौलता छाएको र व्यवसायीको लगानीको सुरक्षाको ग्यारेन्टी हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा महासंघका बर्गीय संयोजक प्रकाश तिवारी, महासंघ गण्डकीका संयोजक केदार पौडेल, सचिव योगेन्द्रबहादुर केसी, मजदुर नेता सूर्यभक्त पौडेल लगायतले सरकारले यातायात क्षेत्र र यस पेशामा आश्रित मजदुरको सुरक्षा र अधिकारका लागि काम गर्नुपर्ने बताउनुभएको थियो ।


