हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज विहान काठमाडौँ उड्न लागेको बुद्ध एयरको एटिआर जहाजमा चरा ठोक्किएको छ ।
विहान ९ः३० बजे युफोर ६०४ उडान नम्बरकाे काठमाडौँ जान लागेको जहाजमा चरा ठोक्किएपछि पाइलटले विमानलाई पार्किङमा फर्काएका छन् ।
जहाज विमानस्थलको पार्किङबाट रनवेमा पुगेर टेकअफको अन्तिम तयारीमा थियो । जहाजमा चरा ठोक्किएपछि अहिले विमानका यात्रुहरुलाई बुद्धकै अर्को जहाजबाट काठमाडौँ पठाउने तयारी भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । सो घटनापछि यात्रुहरु त्रसित बनेका थिए ।
विमानस्थलका सूचना अधिकारी जसोदा सुवेदीले उड्ने तयारीका क्रममा चरा ठोक्किएको जानकारी आएको बताउनुभयो । उहाँका अनुसार प्राविधिकले जहाजको चेक जाँच गरेपछि प्रक्रिया पुराएरमा मात्र चरा ठोक्किएको जहाज सञ्चालनमा आउने छ । पोखरा विमानस्थलमा चरा, स्याल लगायतले समय समयमा दुःख दिने गरेको छ ।


