हिमाली आवाज । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) कास्कीको नवनिर्वाचित समितिको शपथ कार्यक्रम सम्पन्न भएको छ ।
यसैगरी एक्यानले सामाजिक सुरक्षा कोषसँगको सहकार्यमा सामाजिक सुरक्षा कार्यक्रमका बारेमा आफ्ना सदस्यहरुकाबीचमा छलफल तथा अन्तरक्रिया गरेको छ ।
पोखरामा आज आयोजित एक कार्यक्रमकाबीच एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपाल, उपाध्यक्ष अनिल लामिछाने र महासचिव प्रदीप अर्यालले कास्की शाखाको नवगठित कार्यसमितिलाई शपथ गराउनुभयो ।

एक्यान कास्कीको हालै सम्पन्न अधिवेशनले दीपक भुर्तेलको अध्यक्षतामा नौ सदस्सीय समिति सर्वसम्मत चयन गरेको थियो । यसैगरी उपाध्यक्षमा सागर आचार्य, सचिव प्रकाश पौडेल र कोषाध्यक्ष सरोज पराजुली रहनुभएको छ । यसैगरी सदस्यहरुमा आशिस विक्रम शाही, दीपक पाण्डे, सिमा रिजाल, श्रीकृष्ण रेग्मी र सुरज बस्नेत रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष भुर्तेलले लेखापरीक्षण व्यवसायलाई राम्रो बनाउनका लागि यस क्षेत्रमा काम गर्ने सबै मिल्नुपर्ने र आफूले त्यसका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,“लेखा व्यवसायमा काम गर्ने सबै मिलेर मात्र लेखा क्षेत्र अब्बल बनाउन सकिन्छ । त्यसका लागि मेरो टिमले काम गर्नेछ ।”
एक्यानका केन्द्रीय अध्यक्ष अनुप नेपालले केन्द्रमा मात्र नभई प्रदेश र जिल्ला जिल्लामा एक्यानका गतिविधिलाई सक्रिय बनाउने बताउनुभयो । “संस्थाको हितमा लाग्ने छौँ । अझ राम्रो र दरिलो संस्था बनाउने योजना छ ।” नेपालले भन्नुभयो ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै रोजगारदाताहरुलाई प्रोत्साहित गर्न एक्यानका सदस्यहरुको समेत भूमिका हुने बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा कोषको फाइदाका बारेमा रोजगारदाता र श्रमिकलाई बुझाउनुपर्नेमा जोड दिनुभयो । अधिकारीले भन्नुभयो,“सामाजिक सुरक्षा कोष योजना सुरुआतसँगै स्वास्थ्य उपचार सेवा सस्ता भएको छ । उद्योग प्रतिष्ठानहरुमा बन्द, हड्ताल रोकिएका छन् । यसबाट श्रमिकलाई मात्र होइन, रोजगारदाताहरु समेत लाभान्वित भएका छन् ।”
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सामाजिक सुरक्षा कोष कार्यक्रम राम्रो रहेपनि व्यावसायिक प्रतिष्ठान र उद्योगहरुमा पूर्ण कार्यान्वयनमा आउन नसकेको बताउनुभयो ।
सामाजिक सुरक्षा कोषका सह निर्देशक महेश घिमिरेले आगामी दिनमा कोषमा आवद्धतभएपछि मात्र व्यक्तिगत तथा साझेदारी फर्मले करचुक्ता निकाल्ने सक्ने गरी प्रभावकारी बनाउन लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा लेखनाथ उद्याेग वाणिज्य सघका प्रथम उपाध्यक्ष विक्रम कर्माचाय, एक्यान गण्डकीका पूर्वप्रदेश प्रमुख सागर लामिछाने, अडान गण्डकीका अध्यक्ष ज्ञानबहादुर कार्की, कास्कीका अध्यक्ष गुणनिधि पाण्डे लगायतले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
नेपालमा लेखा व्यवसायको विकास, संरक्षण तथा मर्यादित बनाई, पेशागत हकहित संरक्षण गर्न स्थापना भएको नेपालका चार्टर्ड एकाउन्टेन्ट्हरुको पेशागत संघ एक्यानमा नेपाली सीएहरु सदस्य रहने प्रावधान छ । एक्यानको हालै केन्द्रदेखी जिल्लासम्म नयाँ नेतृत्व चयन गरिएको छ ।


