हिमाली आवाज । सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले पोखरा महानगरपालिका–१५ स्थित लामापाटनमा कार्यालय स्थापना गरेको हो ।
नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी पशु क्वारेन्टाइन कार्यालय पोखरामा सञ्चालनमा ल्याएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. पशुपति ढुंगाना तथा पशु सेवा विभागका महानिर्देशक डा.राम नन्दन तिवारीले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
यस कार्यालय अन्तर्गत दुई स्थायी चेकपोष्ट निर्धारण गरिएको छ । एउटा चेकपोष्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (अन्तर्राष्ट्रिय चेकपोष्ट) र अर्को चेकपोष्ट मुस्ताङको कोरला (सीमा चेकपोष्ट)मा रहेको पशु क्वारेन्टाइन कार्यालय पोखरामा प्रमुख डा किरण पाण्डेले बताउनु भयो ।
पाण्डेले कोरला नाकाबाट आयात निर्यात निरन्तर रुपमा बढिरहेको र पोखरा अन्तराष्ट्रिय विमानस्थल छिट्टै पूर्णरुपमा सञ्चालन हुन गइरहेको परिवेशमा कार्यालय स्थापना गरिएको हो ।
“गण्डकी प्रदेशमा पशुपन्छी, पशुपन्छीजन्य उत्पादन, पशुपन्छी उत्पादन सामाग्री मार्फत रोग भित्रिन नदिन, रोगको सम्भावित संक्रमणलाई कम गर्न तथा रोगको प्रभावकारी नियमन गर्नका लागि कार्यालय खुलेको हो ।” कार्यालय प्रमुख पाण्डेले भन्नुभयो ।
पशु क्वारेन्टाइन कार्यालय मार्फत पशुपन्छीजन्य उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ ।
कार्यालय उद्घाटन समारोहमा पशु सेवा विभागका उप–महानिर्देशकद्वय डा. सुलोचना श्रेष्ठ र डा. प्रेरणा सेढाँइ भट्टराई, राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदिश पाण्डे, पशुपन्छी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म न्यौपाने, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख शम्भुराज पाण्डे, पोखरा महानगरपालिका पशु सेवा शाखा प्रमुख डा. पवन पाण्डे लगायतको सहभागिता रहेको थियो ।


