हिमाली आवाज । सहारा क्लब पोखराको आयोजनामा २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको मिति तय भएको छ । आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने क्लबले सोमबार पत्रकार सम्मेलनमा जनायो । यो संस्करण आहा रारा पोखरा गोल्ड कपको रजतजयन्ती संस्करण हो ।
क्लब अध्यक्ष केशवबहादुर थापाले अखिल नेपाल फुटबल संघबाट उक्त समय तालिका प्राप्त भएको जानकारी गराउँदै सोहीअनुसार तयारी सुरु भएको जानकारी दिनुभयो । प्रतियोगितामा केही विदेशी टोलीले पनि भाग लिने भए पनि टुंगो नलागिसकेको उहाँको भनाई छ । सहारा क्लब पोखराले २०५८ सालबाट पोखरा रंगशालामा निरन्तर रुपमा संचालन गर्दै आएको राष्ट्रिय–अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप नेपालका कुनै पनि फुटबल प्रतियोगितामा निरन्तर हुने एकमात्र प्रतियोगिता हो ।
आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको संरक्षक पोखरा महानगर पालिका, विशेष सहयोग राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, सहउपप्रायोजक पोखरा महानगरपालिका वडा नम्बर ९ रहेका छन् ।
कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आहा रारा पोखरा गोल्डकपले फुटबलको विकाससँगै पोखराको चिनारी फैलाउन मद्दत पुगेको बताउनुभयो।
मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले सहारा क्लबसँग सधैँ सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो।


