हिमाली आवाज । साइकलको प्रयोगलाई प्राथमिकता दिने सन्देश सहित पोखरामा यही पुस ५ गते हुने ‘टुर दी पोखरा’को आठौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा ‘स्वास्थ्य, वातावरण र पर्यटन’का लािग साइक्लिङको नारा सहित साइकल सिटी पोखराले ‘टुर दी पोखरा’लाई निरन्तरता दिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कार्यक्रम पोखरा महानगरको ‘क्लिन सिटी र ग्रिन सिटी’को अवधारणा अनुसार हुन लागेको हो ।
‘टुर दी पोखरा’साइकल ¥यालीको माध्यमबाट पोखरा र वरिपरिका पर्यटकीय गन्तव्यहरु पहिचान गरी आमन्त्रित स्वदेशी एवं विदेशी साइकल यात्रीहरुलाई भ्रमण गराई हरित क्रान्तिको सुरुआत गर्नु रहेको साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष नेपालका ३२ जिल्ला तथा विदेशबाट समेत गरी आठ सय ६० जना साइक्लिष्टहरुले नाम दर्ता गराएका छन्। यसबाहेक स्थानीस्तरमा दता नभएका समेत गरी एक हजार बढीको सहभागिता रहने विश्वास गरिएको छ ।
“छिमेकी मित्रराष्ट्र भारत सहित तेस्रो मुलुकबाट समेत साइक्लिष्टहरुको सहभागिता हुने निश्चित भएको छ । पर्यटकीय शहर पोखरामा हुने यस कार्यक्रमले पोखराको प्रवद्र्धन सहित साइकल प्रयोग र इन्धन बचाउने सन्देश प्रवाह गर्नेछ । ” श्रेष्ठले भन्नुभयो ।
‘टुर दी पोखरा’ कार्यक्रमले साइकल संस्कृति बसाल्नुका साथै इन्धन बचाउन महत्वपूर्ण योगदान दिने विश्वास आयोजकको छ । कार्यक्रमबाट वातावरण स्वस्थ राख्नका लागि समेत योगदान पुग्ने सचिव रामचन्द्र भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,“‘हामी धेरै सौखिन भयौं, हिँडेरै पुग्ने वा साइकल चढ्दा हुने ठाउँमा मोटरसाइकल र कार चढ्न थाल्यौं । यसले हाम्रो वातावरण प्रदूषित गर्यो भने हाम्रो पैसा पनि विदेसियो, त्यसैले थोपा थोपा इन्धन बचाएर पैसा विदेश जानबाट जोगाउँदै वातावरण स्वस्थ राख्न योगदान गर्ने उद्देश्यले हामीले यो कार्यक्रमलाई वर्षेनी निरन्तरता दिएका छौँ ।” भट्टले भन्नुभयो ।साइकलयात्राको दूरी पोखराका विभिन्न स्थान सहित माछापुच्छ«े गाउँपालिकाको भुर्जुङखोलासम्म गरी ५१ किमी रहेको छ ।

