हिमाली आवाज । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।
विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज पोखरामा आयोजना गरेको विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रियाको उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो,“संघीयताको अभ्यास मुलकमा भएको छैन, व्यवहारमा भएको छैन । मुलुक बनन्नुको कारण संघ र प्रदेशको अस्थिर राजनीति हो । ”
उहाँले प्रदेश सरकार, संसद र सांसदहरु स्वायत्त नभएको बताउनुभयो । नेपालको संघीयताको अभ्यासनै नभएको समेत उहाँले जिकिर गर्नुभयो ।
“सिँहदरबारमा पानी पर्दा यहाँको मुख्यमन्त्री छाता ओड्छन्। उहाँ भुइचालो गयो भने यहाँ बाहिर निस्कन्छन् ।” मन्त्री खरेलले भन्नुभयो,“ काठमाडौँमा रहेको संघीय सरकरको संरचना भत्कियो भने केही हुनु प्रदैन । यहाँको सरकार भत्किहाल्यो ।”
स्थानीय सरकारले सडक, शिक्षा, स्थास्थ्य, खानेपानी लगायतका क्षेत्रमा काम गरिरहेकाले गणतन्त्र टिकेको समेत मन्त्री खरेलले बताउनुभयो ।
राजनीतिको जग स्थानीय सरकार भएको बताउनुहुँदै मन्त्री खरेलले स्थानीय तह जबाफदेही हुँदा मात्र जनताप्रतिको जिम्मेवारी पूरा हुने स्पष्ट पार्नुभयो । पेसागत सक्रियतासँगै परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय सरकारको अनुभूति जनताले गर्न पाउनुपर्ने बताउनुभयो ।
विज्ञापनसँग सम्बन्धित नीति सुधारका लागि सरकारले सहजीकरण गर्ने बताउनुहुँदै मन्त्री खरेलले यसको व्यवस्थापन, अनुगमन र नियमनका लागि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सञ्चार सचिव राधिका अर्याल, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी लगायतले स्थानीय तहबाट राजस्व वृद्धिका लागि विज्ञापन क्षेत्रलाई नियमनमा जोड दिनुभएको थियो ।


