हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्दसूचीलाई आवश्यक पुनरावलोकन गरिने बताउनुभएको छ ।
पोखरामा आज आयोजित पत्रकार भेटघघाटमा उहाँले पार्टी एकता सहमति र निर्वाचन आयोगमा अन्तिम घडीमा सूची बुझाइएकाले केही गुनासो आएकाले विधिभन्दा बाहिर गएको भए त्यसलाई २ दिनभित्रमा सम्वोधन गर्ने स्पष्ट पार्नुभयो । उहाँले अहिले भइरहेको खबरदारी आफूहरूका लागि राम्रो भएको समेत उल्लेख गर्नुभयो ।
“पार्टीले बुझाएको बन्दसूचीमा केही व्यक्तिहरूको आलोचना र गुनासो आएको छ । अन्तिम घडीमा बुझाएकाले समेत केही समस्या भएको हुन सक्छ । रास्वासँग विधि छ, विधि भन्दा बाहिर कुनै पनि हालतमा जाँदैनौँ, राइट टु रिकलको व्यवस्था समेत छ । परिवारवादलाई पार्टी विधानलेनै दिँदैन । ” लामिछानेले भन्नुभयो ।
सभापति लामिछानेले युवाहरुको विश्वास बालेन शाहप्रति रहेको र नयाँ परिर्वतनको झिल्कोको रुपमा उहाँसँग सहकार्य गरेर प्रधामन्त्रीको रुपमा अघि सारिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“ युवाहरुको आन्दोलनपछि बालेनले जिम्मेवारपूर्वक भूमिका निभाउनुभयो । उहाँको सद्भाव, सल्लाह र सुझाव अनुसारनै अहिलेको सरकार बनेको हो । जेनजीको विश्वास बालेनसँग छ । देशको आवश्यकता अनुसार उहाँसँग सहमति गरेर जिम्मेवारी बाँडेका छौँ ।”
जनताले पार्टी, नेताका रुपमा आशा भरोषा गरेका व्यक्तिहरुलाई एक ठाउँमा उभ्भाएकाले ठूलो परिर्वतन गर्न सक्ने र राष्ट्रिय आङ्कक्षा सम्वोधन गर्न सक्ने बताउनुभयो ।


