हिमाली आवाज । अर्जुन चौपारी गाउँपालिका –५ की ८० बर्षीय पवित्रा देवी विकले आखाँ देख्न थाल्नु भएको छ । १० बर्ष पहिलाबाट आलि अलि आँखा देख्ने विकले पाँच बर्षबाट दुबैमा मोतियाविन्दु भएपश्चात देख्न छोड्नु भएको थियो ।
आर्थिक अभावमा पोखरा पुगेर मोतियाविन्दुको उपचार गर्न नसक्नु भएकी विकले वडा नं –२ मा पालिकाको आयोजना र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग गरिएको निःशुल्क शल्यक्रियामा दुबै आँखा देख्न थाल्नु भएको हो ।
शौचालय जादाँ घरका परिवारका सदस्यको लानु पर्ने गरेको बताउदै विकले शल्यक्रिया पश्चात आँखा देखेको बताउनुभयो । एक चोटी आँखाको उपचारमा पोखरा पुगेको बताउदै विकले रकम नहुदाँ औषधी लिएर शल्यक्रिया नगरी घर फर्केको बताउनुभयो ।विक जस्तै वडा नं –६ का ८१ बर्षीय छविलाल देवकोटोले यहाँ आयोजित निःशुल्क शल्यक्रियामा देब्रे आँखाको शल्यक्रिया गर्नु भएको हो ।
दाहिने आँखाको एक बर्ष पहिला पोखरामा पुगेर पाँच दिन समय लगायर ३० हजार खर्च गरेर शल्यक्रिया गर्नु भएका देवकोटाले पालिकामै देव्रे आँखाको निःशुल्क सफल शल्यक्रिया गर्नु भएको हो ।
पोखरा गएर एक आँखाको शल्यक्रियामा पैसा खर्च भएको र पाँच दिन लागेको बताउदै देवकोटाले यहाँ एक रुपियाँ खर्च नगरी दुई दिनमै मोतियाविन्दुको शल्यक्रिया गरेर र पुर्ण रुपले देख्न थालेको बताउनुभयो ।शिवरमा ८८ बर्षीय प्रेम बहादुर गुरुङ र ४० बर्षीय सन्तोष गुरुङको मोतियाविन्दुको शल्यक्रिया गर्नु भएको हो ।
पुस ७, ८ र ९ गते पालिकाले वडा, वडामा पुगेर आयोजना गरेको आँखा उपचार कार्यक्रममा ५७३ जनाले उपचार गरेकोमा ७६ जनामा मोतियाविन्दु पहिचान भएको थियो । पहिचान भएका मध्ये पुस १५ गते ४३ जना र १६ गते १८ गरेर ६१ जनाको सफल शल्यक्रिया गरिएको हो ।
आर्थिक अभावमा आँखाको उपचार नपाएका बृद्ध आमा बुबाको गाउँमै पुगेर पहिचान गरी शल्यक्रिया गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । पालिकाका नागरिक कुनै रोगबाट प्रभावित हुनु नपर्ने बताउदै तिवारीले समस्या भएमा पालिकालाई तत्काल खबर गर्न आग्रह गर्नुभयो ।
निःशुल्क शल्यक्रियामा डा कृष्ण गुरुङले सबै मोतियाविन्दुका विरामीको सफल एसआईसिएस शल्यक्रिया गर्नु भएको थियो भने डा गुरुङलाई सात जनाको टोलीले सहयोग गरेको हो । निःशुल्क शल्यक्रिया शिविरमा बिरामीहरूलाई निःशुल्क औषधी र चस्मा समेत वितरण गरिएको हो भने खाना तथा बसोबासको व्यवस्था पालिकाले गरेको हो ।
शल्यक्रियाले ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो राहत पुगेको छ भने गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।


