हिमाली आवाज । जनयुद्धका महान् शहीद विजय ढकाल(विश्वास)को २१ औँ स्मृति दिवसमा मंगलबार पोखरामा दीप प्रज्वलन गरिएको छ ।
शहीद विजय ढकाल स्मृति प्रतिष्ठानको आयोजनामा शहीद पार्कमा दिप बालेर शहीद विश्वासलाई स्मरण तथा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । शहीद ढकालकी आमा पारु ढकालले दीप प्रज्ज्वलन कार्यक्रम सुरु गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ वामपन्थी नेता झलकपाणी तिवारीले विजय एक परिपक्व राजनीतिक व्यक्ति र कुशल संगठक एवं सुझबुझ पूर्ण नेता भएको सुनाउनुभयो । उहाँले विजयले कास्कीको कम्युनिष्ट आन्दोलनलाई माथि उठाउन ठूलो योगदान गरेको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष माधव मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आमोद(किरण) थापाले गर्नुभएको थियो ।
तत्कालीन नेकपा(माओवादी)का कास्की जिल्लाका सेक्रेटरी रहनुभएका शहीद ढकालको पार्टी कामको सिलसिलामा हिँडिरहेको अवस्थामा विसं २०६१ साल पुस २९ गते निर्मल पोखरीको साम्मी मैदानमा सेनाद्वारा हत्या गरिएको थियो ।
उहाँको राजनीतिक जीवन अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति हुँदै शुरु भएको थियो भने २०५६ सालमा पि एन क्याम्पसमा भएको कार्यक्रममा प्रहरी धरपकडलाई कुशलतापुर्वक छल्दै उहाँ भुमिगत राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

