हिमाली आवाज । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा आउनुभयो । उहाँले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिनुभयो।
दुस्मन हेरेको हेयौं, कुरा बुझनु पर्दछ, नत्र भने जीन्दगी व्यर्थ छ बाटुली, शीरमा शिरवन्दी, एैना हेर्दा हेर्दै, बाला पनको उमेर, जुन जस्ती रे, ममताकी खानी लगायतका दर्जन बढी गीत समिक्षाले गाउनुभयो । त्यसमध्ये दुस्मन हेरेको हेयौं, कुरा बुझनु पर्दछ, नत्र भने जीन्दगी व्यर्थ छ बाटुली धेरै दर्शकले रुचाएको आभास मिल्थ्यो ।
प्रस्तुतिका क्रममा समिक्षालाई दर्शकले मिठो साथ दिए । यतिसम्मकी आफ्ना गीत गाउन लाग्दा दर्शकले गीत फटाफट आफै गाएर छमछमी नाचे । मैदानमा धुलो उडेर पानी नै हाल्नुपर्ने अवस्था सिर्जना भयो ।
समीक्षा जस्तै बुधबार महोत्सवमा कलाकारहरु कुमार पुन, तुलसा क्षेत्री, नवराज अधिकारी, दुर्गा क्षेत्री लगायतले पनि दर्शकलाई नचाए । त्यस्तै रत्यौली प्रतियोगितातर्फ गौरीशंकर आमा समूह, देवीस्थान आमा समूह र राधाकृष्ण आमा समूहले विभिन्न अभिनय मार्फत दर्शकलाई पेट मिचीमिची हसाए । त्यसका अलवा नृत्यतर्फ अम्बिका मा.वि, धवलागिरी बोडिङ, स्नो भ्यू स्कुल, अंकिता सुनार लगायतले पनि आफू सँगसँगै दर्शकलाई नचाए ।
महोत्सवमा बिहीबार कलाकारहरु श्याम राना, तारापति सुवेदी, पार्वती जिसी, लक्ष्मी नेपाली सुरेश थापा, गंगा परियारका प्रस्तुतिहरु रहने सांस्कृतिक उपसमिति संयोजक सुशिल श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा पनि बृद्धि भएको छ ।
महोत्सवको छैटौं दिन बुधबारसम्म करिव ६५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा कुल ५ हजार ३ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विशेष गरी त्यहाँ घरयासी सामग्री, लत्ताकपडा, भाडाकुडा किन्नेको संख्या बढी छ । त्यहाँ
आलुको परिकारको एउटा स्टल, कृषितर्फ ३० तथा अन्य १ सय बढी व्यापारिक स्टल रहेका छन् ।
सबै स्टलबाट व्यापार राम्रै भइराखेको छ, महोत्सव अन्तिम तिर भएकाले किनमेलका लागि घुइचो जस्तै लागेको छ, हामीहरु स्टल संचालकको निरन्तर सम्पर्कमा पनि छौं, बुधबार साँझसम्म गरी २ करोड ८० लाख बढीको कारोवार भएको अनुमान छ, आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भन्नुभयो ।
त्यहाँ आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् ।
बुधबार साँझसम्म २६ लाख बढीको आलु कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलु बिक्री गरिएको छ ।
हेमजाको निलो आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्ने गरेको छ ।महोत्सव बाहेक हेमजाका अन्य स्थानहरुबाट समेत यतिवेला आलु लगायत कृषि उपजहरुको कारोवार भइरहेको छ ।
यही चैत २७ बाट सुरु महोत्सव बैशाख ५ गतेसम्म चल्नेछ ।
