हिमाली आवाज । पोखरा महानगरपालिका क्षेत्रभित्र कृषि कार्यमा प्रयोग हुने ठूला ट्याक्टर तथा मिनिटिलर (हाते ट्याक्टरर) को भाडादरमा एकरूपता ल्याउन नयाँ दररेट निर्धारण गरिएको छ।
महानगरपालिकाको आर्थिक विकास महाशाखा र पोखरा नगर यातायात व्यवस्थापन समितिको संयुक्त पहलमा गण्डकी ट्याक्टर व्यवसायी संघ समेतको सरोकारवालाहरूको बैठक बसी भाडादर तोकेको हो। कृषकहरूलाई सुलभ दरमा सेवा उपलब्ध गराई कृषि उत्पादन लागत घटाउने उद्देश्यले यो निर्णय गरिएको पोखरा महानगरपालिका, आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो तोकिएको दररेट महानगर क्षेत्रभित्र तत्कालै लागू हुनेछ। तोकिएको नयाँ भाडादर अनुसार मिनिटिलर (हाते ट्र्याक्टर) को भाडा आफ्नै लगानीमा खरिद गरेको प्रतिघण्टा रु. एक हजार बीस र र अनुदान प्राप्त यन्त्रको हकमा प्रतिघण्टा नौ सय रहेको छ ।
त्यसैगरी ठूलो ट्र्याक्टरको भाडा ३० मिनेटभन्दा बढी सञ्चालन भएमा प्रतिघण्टा रु. तीन हजार चार सय र ३० मिनेटभन्दा कम सञ्चालन भएमा प्रतिमिनेट रु ६० थप हुने गरी तय गरिएको छ ।
बजारमा इन्धनको मूल्यमा हुने उतारचढाव र फेरबदलका आधारमा उक्त भाडा दरमा नियमानुसार समयसापेक्ष समायोजन गरिने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ। महानगरपालिकाले तोकेको दरभन्दा बढी शुल्क लिएर कृषकहरूलाई मर्का पारेको पाइएमा प्रचलित कानुन, स्थानीय ऐन तथा नियमावली अनुसार तत्काल कानुनी कारबाही अगाडि बढाइने महाशाखा प्रमुख कडरियाले बताउनुभयो। यस्तो कारबाही प्रक्रिया सम्बन्धित वडा कार्यालयमार्फत तत्काल अगाडि बढाइनेछ।
महानगरपालिकाले क्षेत्रभित्र कार्यरत सम्पूर्ण कृषि समूह, सहकारी, कृषि यन्त्र सञ्चालक तथा सरोकारवालाहरूलाई यो निर्णय पूर्ण रूपमा पालना गरी सहयोग पु¥याउन अनुरोध गरेको छ।
गण्डकी ट्याक्टर व्यवसायी संघका अध्यक्ष डम्बरराज ढकालले संघले तोकिएको भाडादर लागू गर्न पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो ।“हामो संघ मातहतका सबै ट्याक्टरहरुमा महानगरले तोकेको भाडा लागू गर्न हामी प्रतिवद्धत रहेका छौँ । भाडादर तोकिनु असाध्यै राम्रो कार्य हो । यसबाट व्यवसायी तथा कृषक दुबैलाई फाइदा पुग्दछ । ” अध्यक्ष ढकालले हिमाली आवाजसँग भन्नुभयो ।
