हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई नियमित उडान हुने भएको छ ।
विश्वको प्रतिष्ठित वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २३ सेप्टेम्बर २०२६ देखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने भएको हो । सो कम्पनीले उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न गरेपछि दैनिक उडान सञ्चालनका लागि अनुमति पाएको हो ।
पोखरा विमानस्थल निर्माण सम्पन्न भएको लामो समयसम्म आन्तरिक उडानमा सीमित बनेको छ । कहिलेकाँही चार्टर उडान बाहेक अन्य उडान हुन सकेको छैन । फ्लाइ दुबईले उडान सुरु गर्ने भएपछि पोखरा महानगर प्रमुख धनराज आचार्यले खुशी व्यक्त गर्नुभएको छ ।
यसले पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधिको विस्तार र काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर मिल्ने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो ।
“हामी सबैको साथ र विश्वासले यो उडान नियमित मात्र होइन, सदाका लागि सञ्चालन हुने सेवा बनोस् । पर्यटनको राजधानी पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने यो ऐतिहासिक यात्रामा सबैको साथ, सहयोग र शुभेच्छाको अपेक्षा गर्दछु ।” नगर प्रमुख आचार्यले भन्नुभएको छ ।
फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले केही दिनअघि पोखरा आएर विमानस्थलको निरीक्षण गर्नुभएको थियो ।
उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र एयरलाइन अपरेशनको क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका लुकाजले फ्लाइ दुबईले उडानबाट पोखरासँग जोडिन पाए समग्र पोखरा र यस क्षेत्रको पर्यटनका लागि सुखद हुने त्यस बेला महानगर प्रमुख आचार्यसँगको कुराकानीमा बताउनुभएको थियो ।
