हिमाली आवाज । सीप विकासमार्फत रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाले व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत विभिन्न सीपमूलक तालिम पूरा गरेका २०२ जना प्रशिक्षार्थीलाई योग्यताको प्रमाणपत्र प्रदान गरेको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबार पोखरा सभागृहमा आयोजित कार्यक्रममा मन्टेशरी, ब्युटिसियन, केयरगिभर, बारिष्टा, कुक, वेट्रेस, सिलाइ–कटाइ लगायतका सात विधाका तालिम सफलतापूर्वक पूरा गरेका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो।

कार्यक्रममा नगरप्रमुख आचार्यले सीपमूलक तालिमले व्यक्तिलाई आत्मनिर्भर बनाउने मात्र नभई स्थानीय अर्थतन्त्रलाई समेत सबल बनाउने बताउनुभयो। उहाँले केन्द्रबाट तालिम प्राप्त गरेका धेरै प्रशिक्षार्थीले आफ्नै व्यवसाय सञ्चालन गर्नुका साथै स्वदेश तथा विदेशमा रोजगारीका अवसरसमेत प्राप्त गरेको उल्लेख गर्नुभयो।
“तालिम लिएर प्रमाणपत्र लिनुमात्र पर्याप्त हुँदैन, त्यसलाई व्यवहारमा उतारेर उत्पादन, सेवा र उद्यमसँग जोड्न सक्नुपर्छ । ” उहाँले भन्नुभयो ।
महानगरपालिकाले युवालाई सीप, रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाउने प्रमुख आचार्यको भनाई छ ।
महानगर आर्थिक तथा कृषि विकास महाशाखाका प्रमुख मनोहर कडरियाले सीप विकासलाई आर्थिक समृद्धिको आधारका रूपमा लिँदै महानगरपालिकाले बजारको आवश्यकता र रोजगारीको सम्भावनालाई ध्यानमा राखेर तालिम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले तालिमपछि पनि प्रशिक्षार्थीलाई उद्यम सञ्चालन, व्यवसाय विस्तार तथा रोजगारीसँग जोड्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।
व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी नवराज अधिकारीले केन्द्रले सीप सिकाउने मात्र नभई प्रशिक्षार्थीलाई आत्मनिर्भर बन्ने वातावरण तयार गर्न काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा ४६२ जनालाई विभिन्न सीपमूलक तालिम र ३ सयभन्दा बढीलाई क्षमता विकाससम्बन्धी तालिम प्रदान गरिएको छ । हालसम्म केन्द्रमार्फत हजारौं युवाले सीप हासिल गरी स्वरोजगार, उद्यम तथा रोजगारीका अवसर प्राप्त गरेका छन् ।
पोखरा महानगरपालिकाले व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत सीप विकास, उद्यमशीलता प्रवद्र्धन, क्षमता अभिवृद्धि तथा रोजगारमुखी तालिमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ। महानगरले स्थानीय आवश्यकता र श्रम बजारको मागअनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । तालिमका सहभागीहरुले तालिमपछि आफूहरुको आत्मविश्वास बढेको र रोजगारी सिर्जना तथा स्वरोजगार बन्ने प्रतिवद्धता जनाएका थिए ।
