रुपाले ठुलीबेसीका कृषकलाई अनुदानमा दियाे ११ लाख बढीका डेरीजन्य सामग्री

हिमाली आवाज । कास्कीको रुपा गाउँपालिकाले गाउँपालिकाको वडा नं ७ स्थित ठुलीवेसी कालीढुङ्गामा कृषकलाई डेरीजन्य सामग्री वितरण गरेको छ ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवद्र्धन साझेदारी कार्यक्रम अन्तर्गत रुपा गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि दूध उत्पादन परियोजना मार्फत आज कालीढुङ्गाकाे देउराली कृषक समूहलाई रु ११ लाख पाँच हजार बराबरका १२ प्रकारका डेरीजन्य सामग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा मिल्क क्यान, चिलिङ भ्याट, मिल्क एनालाइजर, स्टेबलाइजर, डिप फ्रिज, पनिर प्रेसर मेसिन, क्रिम सेपरेटर, जेनेरेटरलगायतका सामग्री उपलब्ध गराइएको हो ।
यसअघि यही परियोजनाअन्तर्गत गाउँपालिकाले प्रतिगाई रु ४० हजार अनुदान उपलब्ध गराएपछि कृषकले ३५ वटा उन्नत जातका गाई खरिद गरेका थिए। त्यसको प्रत्यक्ष प्रभावस्वरूप अहिले कालीढुङ्गामा दैनिक करिब ४०० लिटर दूध उत्पादन हुन थालेको छ । गाउँमै दूध संकलन हुने व्यवस्था भएपछि उत्पादन पोखराको बजारसम्म नियमित रूपमा पुग्न थालेको छ ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले किसानको श्रमलाई सम्मान गर्दै उत्पादनसँग जोड्ने लक्ष्यका साथ गाउँपालिकाले कृषि क्षेत्रमा लगानी बढाएको बताउनुभयो।
“किसानको मेहनतले मात्र गाउँ समृद्ध हुन्छ भन्ने हाम्रो विश्वास हो। त्यसैले प्रत्येक घरलाई आयआर्जनसँग जोड्ने गरी कार्यक्रम ल्याएका छौं। विगतमा पूर्वाधारमा केन्द्रित बजेट यस वर्ष कृषि, उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गरेका छौं ।” अध्यक्ष ओझाले भन्नुभयो ।

उहाँले गरिबी निवारणका लागि सञ्चालन गरिएको दूध उत्पादन परियोजना पालिकाका ११ स्थानमा विस्तार गरिएको जानकारी दिँदै यसको प्रतिफल किसानको जीवनस्तरमा देखिन थालेको उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेले अब उत्पादन बढाउने मात्र नभई त्यसको दिगो बजार सुनिश्चित गर्ने दिशामा गाउँपालिका अघि बढ्ने बताउनुभयो ।

“डेरीका पूर्वाधार गाउँसम्म पुगेका छन् । अब किसानले उत्पादन बढाउने र गाउँपालिकाले त्यसको बजारीकरण तथा व्यवस्थापनमा आवश्यक सहजीकरण गर्नेछ। उत्पादन खेर जान नदिने हाम्रो प्रतिवद्धता । सोही अनुसार यस वर्ष कार्यक्रम गछौँ । उहाँले भन्नुभयो ।

देउराली  कृषक समुहका अध्यक्षा शंकरलाल श्रेष्ठका अनुसार केही वर्षअघिसम्म कालीढुङ्गामा दूध बिक्री गर्न चार घण्टासम्म पैदल हिँडेर बेगनासताल पुग्नुपर्ने बाध्यता थियो। अहिले भने गाउँमै दूध संकलन केन्द्र सञ्चालन भएपछि किसानको समय, श्रम र खर्चको बचत भएको छ ।

“गाउँपालिकाको सहयोगपछि किसानमा नयाँ उत्साह आएको छ । पहिले ११ जनाबाट सुरु भएको हाम्रो समूह अहिले २० सदस्य पुगेको छ। गाईको संख्या पनि बढ्दै गएको छ। अब समूहलाई सहकारीका रूपमा विकास गरेर अझ व्यवस्थित रूपमा डेरी व्यवसाय विस्तार गर्ने योजना बनाएका छौं । श्रेष्ठले भन्नुभयो।

Comments
Loading...