हरित विद्यालय निर्माणका लागि पोखरामा चारदिने प्रादेशिक तालिम सम्पन्न

हिमाली आवाज ।  विद्यालयलाई वातावरणमैत्री, दिगो र जलवायुमैत्री शिक्षण संस्थाका रूपमा विकास गर्ने उद्देश्यले पोखरामा आयोजित चारदिने हरित विद्यालय सम्बन्धी प्रादेशिक तालिम सम्पन्न भएको छ।

नेपाल प्रधानाध्यापक संघ (प्यान) को समन्वय तथा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) र काठमाडौं विश्वविद्यालय को सहकार्यमा सम्पन्न तालिममा गण्डकी प्रदेशका विभिन्न विद्यालयका १५ जना प्रधानाध्यापक र १५ जना हरित विद्यालय सम्पर्क शिक्षक गरी ३० जनाको सहभागिता रहेको थियो।

तालिममा विद्यालयलाई दिगो विकासका लक्ष्यअनुसार वातावरणमैत्री र जलवायु–उत्तरदायी बनाउने अवधारणा, नीति, कार्यढाँचा तथा व्यवहारिक पक्षबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूलाई युनेस्कोद्वारा प्रकाशित ‘जलवायु कार्यका लागि पाठ्यक्रमलाई हरित बनाउनेः शिक्षण र सिकाइ’ शीर्षकको मार्गदर्शिकासहित नेपाल सरकार र युनेस्कोका सम्बन्धित मार्गदर्शक दस्तावेजका आधारमा हरित शिक्षा कार्यान्वयन गर्ने विषयमा अभिमुखीकरण गरिएको थियो।

कार्यक्रममा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, पारिस्थितिकीय प्रणाली, जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण तथा उत्थानशीलता (विपद्पछिको पुनःउत्थान क्षमता), दिगो जीवनशैली र परिपत्र अर्थतन्त्र (स्रोतको पुनःप्रयोग र पुनर्चक्रणमा आधारित अर्थतन्त्र) जस्ता विषयलाई विद्यालय शिक्षासँग कसरी प्रभावकारी रूपमा जोड्ने भन्ने विषयमा गहन छलफल भएको थियो। साथै, विभिन्न विषयका पाठ्यवस्तुसँग हरित विद्यालय अवधारणालाई अन्तरसम्बन्धित गर्दै विद्यार्थीकेन्द्रित, परियोजनामा आधारित तथा व्यवहारमुखी सिकाइ प्रवर्द्धन गर्ने उपायबारे अभ्याससमेत गराइएको थियो।

तालिमको महत्वपूर्ण उपलब्धिका रूपमा सहभागीहरूले वातावरणीय तथा दिगोपनका अवधारणा समेटिएका अन्तरविषयगत पाठ योजना तयार गरेका थिए। ती पाठ योजनाका आधारमा कास्कीको भद्रकाली माध्यमिक विद्यालय, कुडहर मा प्रदर्शन कक्षा सञ्चालन गरिएको थियो। प्रदर्शन कक्षाको काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा युनेस्कोका प्रतिनिधिले अवलोकन गरी सहभागीहरूलाई आवश्यक सुझाव र पृष्ठपोषण प्रदान गरेका थिए।

कार्यक्रममा नेपाल प्रधानाध्यापक संघका केन्द्रीय अध्यक्ष सुदाम गौतम ले विद्यालय नेतृत्वले हरित, दिगो र जलवायुमैत्री विद्यालय निर्माणमा अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले गण्डकी प्रदेशबाट सुरु गरिएको यो कार्यक्रम आगामी चरणमा सातै प्रदेशका १०० भन्दा बढी विद्यालयका प्रधानाध्यापक र हरित विद्यालय सम्पर्क शिक्षकसम्म विस्तार गरिने तथा प्रत्येक वर्ष सहभागीको संख्या बढाउँदै लैजाने योजना रहेको जानकारी दिनुभयो।

त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ, कास्की का प्रमुख लोकनाथ आचार्य ले तालिमबाट हासिल भएको ज्ञान र सीपलाई विद्यालयमा व्यवहारिक रूपमा कार्यान्वयन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

तालिमको समापनसँगै सहभागीहरूलाई आफ्ना विद्यालयमा हरित विद्यालय अवधारणामा आधारित विद्यालय–आधारित परियोजना सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। तोकिएका कार्य सफलतापूर्वक सम्पन्न गरी प्रतिवेदन पेस गरेपछि सहभागीहरूलाई काठमाडौं विश्वविद्यालयबाट शैक्षिक मान्यता (शैक्षिक क्रेडिट) प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस तालिमले विद्यालय नेतृत्व र शिक्षकहरूलाई हरित विद्यालय अवधारणालाई विद्यालय व्यवस्थापन, शिक्षण–सिकाइ प्रक्रिया, सहपाठ्यक्रियाकलाप तथा समुदायसँगको सहकार्यमा प्रभावकारी रूपमा समावेश गर्न आवश्यक ज्ञान, सीप र व्यवहारिक अनुभव प्रदान गरेको छ। यसबाट नेपालका विद्यालयहरूलाई दिगो विकासका लक्ष्यअनुरूप वातावरणमैत्री तथा जलवायुमैत्री शिक्षण संस्थाका रूपमा विकास गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

Comments
Loading...