हिमाली आवाज । पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
गण्डकी प्रदेशमै पहिलोपल्ट केयूको इन्जिनियरिङ संकायअन्तर्गत बीआईटी कार्यक्रम पोखरा भित्र्याउँदै कलेजले विद्यार्थीका लागि अध्ययनसँगै रोजगारीलाई जोड्ने ‘सिक्दै कमाउँदै’ मोडल सार्वजनिक गरेको छ । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्चालक तथा केयूका प्रतिनिधिले कार्यक्रमबारे विस्तृत जानकारी गराएका हुन् ।
पहिलो शैक्षिक सत्रका लागि केयूले निर्धारण गरेको ३० जनाको सीमित कोटाका लागि शनिबार र आइतबार सञ्चालित प्रवेश परीक्षामा करिब ३ सयजना विद्यार्थी सहभागी भएका छन् । भर्ना प्रक्रिया १८ साउनदेखि खुला भई आगामी ९ भदौदेखि नियमित कक्षाहरू सञ्चालन हुने जनाइएको छ । चार वर्षे यस पाठ्यक्रमको कुल शिक्षण शुल्क ९ लाख ६० हजार रुपैयाँ तोकिएको छ । भर्नाका लागि प्लस टू तहमा विज्ञान विषय पढेको र न्यूनतम जीपीए दुई ल्याएको विद्यार्थी योग्य हुनेछन् ।
अशोका कलेजका अध्यक्ष श्रीराम पाण्डेले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी उद्योग र व्यवहारसँग जोड्न आफ्नै व्यावसायिक घरानाको सञ्जाल प्रयोग गरिने बताउनुभयो । कलेज सञ्चालक समूहको हाइड्रोपावर, खाद्यान्न, इन्जिनियरिङ तथा सूचना प्रविधिसम्बन्धी उद्योगहरू रहेकाले दोस्रो तथा तेस्रो वर्षदेखि नै विद्यार्थीलाई व्यावसायिक सफ्टवेयर निर्माण तथा परियोजनामा संलग्न गराइने उहाँले बताउनुभयो । ‘इन्जिनियरिङ अध्ययनपछि मैले पढाइ र व्यावहारिक कामबीच ठूलो खाडल अनुभव गरेँ । अशोका कलेजमा बिआईटी पढ्ने विद्यार्थीले अध्ययनकै क्रममा हाम्रा साझेदार प्रविधि कम्पनीहरूमा काम गरी अनुभव हासिल गर्नेछन् । स्नातक भएर निस्कँदा उनीहरूसँग प्रतिष्ठित डिग्रीका साथै बजारमा बिक्ने व्यावहारिक कार्यअनुभव हुनेछ ।’पाण्डेले भन्नुभयो ।
पाण्डेका अनुसार सिर्जना चोकमा रहेको पुरानो पोखरा फुड्स बिस्कुट कारखानाको भवन भत्काएर हाल करिब ५० हजार वर्गफिट क्षेत्रफलको नयाँ भवन निर्माणाधीन छ । भवन आचारसंहिता तथा सुरक्षा मापदण्डका हिसाबले उक्त पुरानो संरचना हालको मापदण्डसँग नमिलेपछि यसलाई भत्काएर नयाँ भवन बनाउने निर्णय गरिएको हो र नयाँ भवन महानगरबाट स्वीकृति लिएरै निर्माण भइरहेको र संरचनागत डिजाइनमा कुनै सम्झौता नगरिएको स्पष्ट पार्नुभयो ।
काठमाडौं विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग प्रमुख पंकज दवाडीका अनुसार बीआईटी कार्यक्रम १ सय २७ क्रेडिटको हो, जुन नतिजामुखी शिक्षा (आउटकम बेस्ड एजुकेसन) को सिद्धान्तमा आधारित रहेको छ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका सहायक डिन श्यामसुन्दर खड्काका अनुसार विश्वविद्यालयले हरेक कार्यक्रममा गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति लिएको छ । ‘प्रवेशका लागि विज्ञान विषय पढेको विद्यार्थी नै आवश्यक पर्ने मापदण्ड हामीले तोकेका छौं र काठमाडौं विश्वविद्यालयका सबै कार्यक्रम त्यही मापदण्डभित्र रहन्छन् । अशोका कलेजले तयार पारेको भौतिक पूर्वाधार र प्रतिबद्धता हेरेर नै हामीले सम्बन्धन दिएका हौं । विद्यार्थीको सुरक्षा, भवनको संरचनागत मजबूती र शैक्षिक मापदण्डमा कुनै कमजोरी हुन दिइने छैन ।’ उहाँले भन्नुभयो ।
कलेजका अध्यक्ष पाण्डेका अनुसार कलेजका अधिकांश शिक्षक नियुक्ति प्रक्रियामा रहेका छन् र काठमाडौं विश्वविद्यालयकै मापदण्डअनुसार स्नातकोत्तर उत्तीर्ण गरेका जनशक्ति मात्र नियुक्त गरिनेछ । भविष्यमा अशोका कलेजले बीआईटी कार्यक्रमलाई सफल रूपमा सञ्चालन गरेपछि अन्य इन्जिनियरिङ तथा व्यवस्थापनका कार्यक्रमहरू पनि थप गर्दै लैजाने दीर्घकालीन योजना बनाएको छ ।
