मर्दी हिमाल पदयात्रामा बाटाे विराएका पाेखराका तीन युवा सम्पर्कमा

हिमाली आवाज।  मर्दी पदमार्ग क्षेत्रमा बाटो बिराएका पर्यटकसँग उद्धारकर्मीको प्रत्यक्ष सम्पर्क भएको छ। उद्धार टोली र बाटो बिराएका दुवै समूह एकअर्कालाई देख्न तथा बोल्न सक्ने अवस्थामा पुगेका छन्।

मर्दी हिमाल पदयात्रामा निस्किएका पाेखराका तीन युवा माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन भएका थिए । पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र २३ वर्षका दिपेश गुरुङ सम्पर्क विहिन भएपछि खाेजी तीव्र पारिएको थियो ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले उद्धार कार्यलाई सुरक्षित रूपमा सम्पन्न गर्न सबै पक्ष समन्वयमा रहेको बताउँदै आवश्यक सहयोग भइरहेको जानकारी दिएका छन्।
वडाध्यक्ष राजेन्द्रका अनुसार उक्त टोली मंगलबार दिउँसो करिब ३ बजेदेखि बाटो बिराएर घान्द्रुकतर्फको भेगमा पुगेको भए पनि उनीहरू निरन्तर सम्बन्धित निकायसँग सम्पर्कमै थिए। मंगलबार राति उनीहरूले जंगलको एउटा ओडारमा बसेर रात बिताएका थिए।

बुधबार बिहान होटल व्यवसायीहरू उद्धारका लागि पुगे पनि उनीहरूले माथिल्लो उकालो बाटो नलाग्ने अडान लिँदै भिर र जंगल हुँदै मोदी नदीको किनारतर्फ झरेका थिए। यसबारे सूचना प्राप्त भएपछि उद्धार समन्वय टोलीले घान्द्रुक प्रहरी र अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्षसँग समन्वय गरी थप उद्धार प्रयास अघि बढाएको थियो।

हाल उद्धार टोली र बाटो बिराएको समूह आमनेसामने भएका छन्। तर मोदी नदीमा पानीको बहाव अत्यधिक भएकाले नदी सुरक्षित रूपमा कसरी पार गराउने भन्ने विषयमा छलफल भइरहेको छ।

यसैबीच, पोखराबाट सशस्त्र प्रहरी बल (एपीएफ) को विशेष खोज तथा उद्धार टोली पनि घटनास्थलतर्फ परिचालित भइसकेको छ। उक्त टोली केही मिनेटमै घटनास्थल पुग्ने जानकारी प्राप्त भएको छ। सम्बन्धित निकायले उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक सबै समन्वय भइरहेको जनाएको छ।

Comments
Loading...