हिमाली आवाज । कास्कीमा कृषि तथा पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित कृषि विकास कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय र प्रदेश कृषि प्रयोगशालाले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि स्वीकृत कार्यक्रम सार्वजनिक गरेका छन् ।
प्रदेश कृषि प्रयोगशाला, कृषि विकास कार्यालय कास्की तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीले नियमित प्राविधिक सेवाबाहेक सञ्चालन हुने कार्यक्रमबारे कृषक, पशुपालक तथा सरोकारवालालाई जानकारी गराएका हुन्।
कृषि विकास कार्यालय कास्कीले खाद्यान्नबाली उत्पादन प्रवद्र्धन, आत्मनिर्भरताका लागि बीउ उत्पादन प्रवद्र्धन, व्यावसायिक तरकारी खेती सहयोग, लोकमार्ग तथा कोरिडोर केन्द्रित कृषि उत्पादन प्रवद्र्धन, प्रशोधनयोग्य तथा खायन आलु उत्पादन प्रवद्र्धन, फलफूल बगैँचा सुदृढीकरण तथा क्षेत्र विस्तारलगायतका कार्यक्रम अघि सारेको वरिष्ठ बाली विकास अधिकृत समेत रहनुभएका कार्यालय प्रमुख सुदीप खतिवडाले जानकारी दिनुभयो ।
यसैगरी कार्यालयले जलवायुमैत्री कृषि प्रविधि प्रवद्र्धन, प्राङ्गारिक मल वितरण, रैथाने तथा स्थानीय बाली विकास, ग्रामीण पोषण सुरक्षा, सामुदायिक बीउ बैंक तथा रैथाने बालीसम्बन्धी कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवद्र्धन र माटो सुधारका लागि कृषि चुन वितरणलाई समेत प्राथमिकतामा राखेको छ ।
कार्यालयका अनुसार खाद्यान्नबाली उत्पादन प्रवद्र्धनका लागि ४० हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित रु. ४४ लाख बजेट विनियोजन गरिएको छ। व्यावसायिक तरकारी खेतीका लागि रु. ६५ लाख, प्रशोधनयोग्य तथा खायन आलु उत्पादन प्रवद्र्धनका लागि रु. ७२ लाख र फलफूल बगैँचा सुदृढीकरण तथा क्षेत्र विस्तारका लागि रु. ४० लाख बजेट छुट्याइएको कार्यालय प्रमुख खतिवडाले बताउनुभयो ।
यसैगरी भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीले दूध उत्पादनमा आधारित प्रोत्साहन, स्वास्थ्य सुधारमार्फत दूध उत्पादन प्रवद्र्धन, पाडी–बाछी हुर्काउन प्रोत्साहन, व्यावसायिक फार्ममा असल अभ्यास अवलम्बन प्रवद्र्धन तथा बंगुरपालन व्यवसायमा जैविक सुरक्षा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने कार्यालय प्रमुख डा ग्रिष्म न्यौपानेले बताउनुभयो ।

कार्यालयले पशु स्वास्थ्यतर्फ राहत तथा पुनस्र्थापना सहयोग, मत्स्य स्वास्थ्य घुम्ती शिविर, घुम्ती गोठ संरक्षण तथा स्वास्थ्य, घोडा–खच्चडमा स्वास्थ्य तथा बन्ध्याकरण शिविर, जुनोटिक रोगसम्बन्धी स्कुल शिक्षा, सामुदायिक कुकुरमा रेबिजविरुद्ध खोप तथा कुकुर–बिरालो बन्ध्याकरण कार्यक्रमसमेत राखिएका छन्। दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु. १ करोड २५ लाख, स्वास्थ्य सुधारमार्फत दूध उत्पादन प्रवद्र्धनका लागि रु. ५० लाख र पाडी–बाछी हुर्काउन प्रोत्साहनका लागि रु. ३५ लाख बजेट विनियोजन गरिएको छ । कार्यालय चालू आवमा समेत अधिकाँस पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कार्यालयहरूले सम्बन्धित कार्यक्रम स्वीकृत कार्यविधि तथा मापदण्डअनुसार सञ्चालन हुने जनाएका छन् । कृषक तथा सरोकारवालाले कार्यक्रमसम्बन्धी विस्तृत जानकारी सम्बन्धित कार्यालयबाट लिन सक्ने जनाइएको छ । “ कार्यालयबाट यस वर्ष कार्यान्वयन हुने कार्यक्रमका लागि हामी सार्वजनिक सूचनामार्फत कृषकलाई जानकारी गराउनेछौँ । ” कार्यालय प्रमुख डा न्यौपानले बताउनुभयो ।
यसैगरी, प्रदेश कृषि प्रयोगशालाले समेत चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रमअनुसार नियमित प्राविधिक सेवाबाहेकका गतिविधि सञ्चालन गर्ने कार्यालय प्रमुख सुनील पाण्डेले बताउनुभयाे । तीनवटै कार्यालयका कार्यक्रमले कृषि उत्पादन वृद्धि, पशुपालन व्यवसायको व्यावसायीकरण, पशु स्वास्थ्य सुधार तथा कृषकको आयआर्जनमा सहयोग पु¥याउने अपेक्षा गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका निमित्त सचिव बालकृष्ण अधिकारीले बताउनुभयो ।
कार्यक्रममा गण्डकीका कृषि तथा भूमिव्यवस्था मन्त्री भीम कार्कीले कार्यक्रमहरुमा दोहोरोपन हुन नहुनेमा जोड दिनुभयो । उहाँले कृषकका समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँदै तीनै तहका सरकारको सामूहिक प्रयासबाट कृषि विकास सम्भव हुने बताउनुभयो । कार्यक्रममा कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ रञ्जना पोखरेलले सार्वजनिकीकरण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
