आहा रारा गोल्डकपबाट सहाराले सवा कराेड बढी आम्दानी गर्याे तर बचत जम्मा तीन लाख

हिमाली आवाज । सहारा क्लब पोखराले हरेक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दछ । गोल्डकपको उद्धेश्य क्लबले सञ्चालन गरिरहेको सहारा फुटबल एकेडेमी सञ्चालन हो । प्रतियोगिताबाट बचत रकम एकेडेमीका बालकहरुको आवास र शिक्षामा खर्च हुन्छ । यसरी बचत रकम एकेडेमी चलाउन खर्च गर्ने गरिएपनि प्रतियोगिताबाट बचत कम हुँदा एकेडेमी कसरी चलाउने भन्ने चिन्ता सुरु भएको छ ।

सहाराले आज पत्रकार सम्मेलन गरी २५ औँ संस्करणको आय व्यव सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत वर्ष सञ्चालन भएको २५ औँ संस्करणबाट जम्मा तीन लाख २१ हजार ८३९ बचत हुन सकेको छ । सहाराको आम्दानी अनुसारनै खर्च हुँदा बचत थोरै हुने गरेको छ । यसबाट एकेडेमी सञ्चालनमा क्लबलाई समस्या पर्ने देखिएको छ ।

गत वर्ष सहाराले कूल एक करोड ३३ लाख २३ हजार ४८५ आम्दानी गरेकामा खर्च रु एक करोड ३० लाख एक हजार ६४६ भएको थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष केशवबहादुर थापाले विभिन्न शीर्षकमा खर्च बढी हुँदा बचत कम भएको बताउनुभयो । उहाँले प्रतियोगितका लागि सबैबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

मुख्य प्रायोजक हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाशबहादुर केसीले फुटबल प्रतियोगिता सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो ।उहाँले राम्रो काम क्लबले गरिरहेकाले सँधै साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

Comments
Loading...