अर्जुन काफ्ले ⁄ हिमाली आवाज ।
स्याङ्जा, भदौ २६ गते । अर्जुनचौपारी गाउँपालिका –१ मा रहेको देशकै पहिलो नवग्रह मन्दीरमा यही भाद्र २७, २८ र २९ गते क्षमा पूजा र इतिहासकै दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प( महाअनुष्ठान) हुँदैछ । सो कार्यक्रमको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ
यहाँको नवग्रह धाममा भोटेकोशी बाढीमा परेका नागरिकको लागि क्षमा पूजा र मानव जीवनका सम्पूर्ण ग्रहदोष शान्ति र सर्वसिद्धि प्राप्तिका लागि ऐतिहासिक महाअनुष्ठान आयोजना गरिएको हो ।
‘ग्रह शान्त भए जीवन शान्त हुन्छ’ भन्ने मूल मर्मका साथ सञ्चालन हुन लागेको यो नवग्रह महायज्ञ साधारण पूजा वा हवन मात्र नभई कृष्ण यजुर्वेद र अथर्ववेदको ‘नक्षत्र कल्प’ मा हजारौँ वर्षअघि महर्षिहरूले गुप्त राखेको दुर्लभ महासाम्राज्य विधान अनुसार गरिने पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।
युगौँमा केवल महान् सम्राटहरू र सिद्ध साधकहरूका लागि मात्र गरिने यो अलौकिक अनुष्ठान जन्मान्तरको पुण्यले मात्र प्राप्त हुने तिवारीले बताउनुभयो । महाअनुष्ठान कलि युगको कठोर शास्त्रोक्त विधान अनुसार पाँच लाख ४४ हजार भन्दा बढी मन्त्रको लक्षजप अनुष्ठान गरिने छ ।
विद्वान वैदिक ब्राह्मणहरूद्वारा सूर्यका लागि सात हजार, चन्द्रका लागि एघार हजार, मङ्गलका लागि दस हजार, बुधका लागि नौ हजार, गुरुका लागि उन्नाइस हजार, शुक्रका लागि सोह्र हजार, शनिका लागि तेइस हजार, राहुका लागि अठार हजार र केतुका लागि सत्र हजार जप सम्पन्न गरी त्यसको चार गुणा कलि–विधान पूरा गरिने छ ।
जपपश्चात् नौ वटै ग्रहका लागि तोकिएका विशेष वनस्पति र समिधा जस्तै सूर्यलाई आँक, चन्द्रलाई पलाश, मङ्गललाई खदिर र शनिलाई शमीको प्रयोग गरी हवन गरिनेछ ।
हवन कुण्डमा नौ प्रकारका अन्न, शुद्ध घिउ, तिल, जौ, मह र विशेष जडीबुटीयुक्त नवधान्य र द्रव्यको आहुति दिइने नवग्रह मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताउनुभयो ।
नवग्रहका साथै तिनका शासक अधिदेवता र प्रत्यधिदेवता जस्तै सूर्यका लागि शिव, चन्द्रका लागि पार्वती र बुधका लागि विष्णुको समेत विशेष तर्पण र आहुति गरिने छ । यस अनुष्ठानको अद्भुत र शक्तिशाली पक्ष भनेको २८ गते मध्यराति १२ बजे गरिने अघोर पूजा र तान्त्रिक विधि अनुसार कुभिन्डो, नरिवल, कागती, उखु र जायफलको सात्विक बलि दिइनेछ ।
मन्त्रको अखण्ड गुञ्जनबीच मध्यराति गरिने यो बलि छेदनले यजमान वा दर्शनार्थीमाथि लागेको वर्षौँदेखिको ठूलो ग्रहदोष, अदृश्य बाधा र सङ्कटलाई तत्कालै तानेर भस्म गरिदिनेछ ।तीन दिन सम्म चल्ने यो महाअनुष्ठानमा ५० हजार भक्त्तजनले मन्दिरमा पूजा आराधाना गर्ने अनुमान गरिएको छ ।
हरेक बर्ष गणेश चतुर्थीको अवसमार गरिने र नवग्रह बनेसँगै पहिलो पटक गरिन लागेको महाअनुष्ठानमा नवभुज आकारको आकाश तर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिरमा आकाश तर्फ फर्केको सौर्यमण्डलिय ब्रमाण्डको प्रतिमाको समेत प्रत्यक्ष रुपमा हेर्न पाइने छ ।
