हिमाली आवाज । पाेखराकाे नयाँबजारमा रहेकाे उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले लेखनाथ अर्यालको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ।
पाेखरामा आज सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रेवतीमणि भण्डारी, सचिवमा राजेश शर्मा र कोषाध्यक्षमा अमृत श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यस्तै, सञ्चालक सदस्यमा टीका थापा, सलु कुमारी श्रेष्ठ र कविता थपलिया सर्वसम्मत निर्वाचित हुनुभएको छ।
अधिवेशनले अनिल लिगलको संयोजकत्वमा कृष्णप्रसाद भण्डारी र शिव अधिकारी सदस्य रहेको लेखा समिति पनि सर्वसम्मत निर्वाचित गरेको छ।

वरिष्ठ सल्लाहकार पदमबन्धु पोखरेलको संयोजकत्वमा गठित निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुकदेव गौतम र पूर्वउपाध्यक्ष राजेन्द्र लम्साल सदस्य रहनुभएको थियो। निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको थियो।
यस अघि अधिवेशनकाे उद्घाटन संस्थाकी ज्येष्ठ सदस्य चीजमाया गुरुङले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।समाराेहमा संस्थाका अध्यक्ष राजेश रानाभाटले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको वर्तमान अवस्था, हालसम्मका उपलब्धि तथा आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो।
अधिवेशनमा संस्थाको आगामी कार्यदिशा, संस्थागत सुशासन, सदस्य सेवा विस्तार तथा सहकारीलाई थप व्यवस्थित, प्रविधिमैत्री र सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
कार्यक्रममा एसईई तथा कक्षा १२ (+२) उत्तीर्ण सदस्यहरूका छोरा–छोरीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै, दिवङ्गत सदस्यहरूका परिवारजनप्रति श्रद्धाञ्जली अर्पण गर्दै भोटेकोशी बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको थियो। सो अवसरमा मृतकहरूको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो।
कार्यक्रमको सञ्चालन निवर्तमान सचिव रेवतीमणि भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्षा लेखनाथ अर्यालले राख्नुभएको सहकारी संस्थाका महाप्रवन्धक भगवान भट्टराइले जानकारी दिनुभयो ।
नवनिर्वाचित सञ्चालक समिति तथा लेखा समितिले संस्थाको संस्थागत विकास, सदस्यको हित र सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
