कोरोनाको कहरः कास्कीका ठूला योजनामा प्रभाव

–वासुदेव पौडेल÷कृष्ण दवाडी
पोखरा,२२ असोज । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि गत वर्ष चैत ११ देखि आह्वान गरिएको बन्दाबन्दीका कारण कास्की जिल्लामा विकास निर्माणका काम प्रत्यक्ष प्रभावित भएका छन् ।

पोखरा महानगरपालिका र चार वटा गाउँपालिका रहेको जिल्लामा संघ, प्रदेश तथा स्थानीय सरकारबाट बजेट विनियोजन भएर कार्यान्वयन भइरहेका अधिकांश ठूला आयोजनाको काम प्रभावित बनेको हो । कतिपय योजना भने कोरोना सङ्क्रमणका बाबजुद पनि स्थानीय तहहरूले सम्पन्न गरेका छन् । स्थानीय तहबाट सञ्चालित साना खालका पूर्वाधार विकासका आयोजना सम्पन्न भएपनि अन्य ठूला योजनामा भने कोरोनाले नराम्रोसँग प्रभावित बनाएको छ ।

विकास निर्माणको मुख्य समयमै काम रोकिदा विकास आयोजना प्रभावित बनेको हो । नेपालमा फागुनदेखि जेठसम्मको समय पूर्वाधार विकासको मुख्य समयका रुपमा रहेको छ । अघिल्लो वर्ष चैतको दोस्रो सातादेखि बन्दाबन्दी आह्वान भए लगत्तै परियोजनास्थलमा कार्यरत मजदूरहरु अलपत्र भएपछि सरकारले नै उनीहरुलाई वैकल्पिक व्यवस्था गरेर घर फिर्ता पठाएको थियो ।

घर फर्किएका मजदूरहरु भदौ पहिलो सातासम्म पनि निर्माणस्थलमा नआउँदा ठूला आयोजनाको काम रोकिएकामा भदौ दोस्रो सातापछि भने आशिंक रुपमा कामहरू अघि बढेका थिए । स्थानीय तहले उपभोक्ता समूह मार्फत गरेका धेरैजसो योजना भने स्थानीय मजदुरको प्रयोगबाट सम्पन्न गरिएका छन् ।

कास्कीको मादी गाउँपालिकामा कोरोना भाइरसको कारण सृजित आर्थिक तथा स्वास्थ्य संकटबाट मुलुकको अर्थतन्त्रमा परेको प्रभावले पालिकालाई प्राप्त हुने संघीय सरकार तथा प्रदेश सरकारको समानीकरण अनुदान, राजश्व बाँडफाँड तथा पालिकाको आन्तरिक आयमा समेत प्रभाव पारेको छ । पालिकाबाट सञ्चालित योजना तथा कार्यक्रममा कोरोनाले असर पु¥याएको छ ।

मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले गाँउपालिकाबाट सञ्चालित विकासका योजनाहरु भने झन्डै शतप्रतिशत सम्पन्न भएपछि संघ तथा प्रदेश सरकारले ठूला र बहुवर्षीय योजनाको काम भने बन्दाबन्दीले प्रभावित बनाएको बताए ।
गाउँपालिकाले गत वर्षको कार्यक्रममा समेटेका तालिम, क्षमता विकास तथा लक्षित वर्गका कार्यक्रम भने आधाभन्दा बढी कार्यान्वयमा आउन सकेनन् । पालिका केन्द्र र वडा केन्द्रलाई जोड्ने रणनीतिक महत्वका सडकको स्तरोन्नति समेत प्रभावित बनेको थियो ।

मादीको गौरवको आयोजनाको रुपमा रहेका विजयपुरखोलादेखि पर्यटकीय गन्तव्य सिक्लेससम्मको कालोपत्रे सडक, कसेरी भैँसे हुँदै याङ्जाकोट सडक स्तरोन्नति, मादी करिडोर तथा खुला वन्यजन्तु उद्यान निर्माण लगायतका योजना प्रत्यक्ष रुपमा बन्दाबन्दीबाट प्रभावित बनेको गाउँपालिकाले जनाएको छ ।

“गाउँपालिकाका विकासका योजनाहरु उपभोक्ता समिति मार्फत शतप्रतिशत कार्यान्वयन भएपनि अन्य लक्षित वर्ग अन्तर्गतका कार्यक्रम, विभिन्न शीर्षकमा उल्लेख कार्यक्रहरु भने बन्दाबन्दीका कारण प्रत्यक्ष प्रभावित बने,” सापकोटाले भने, “जनशक्ति अभावमा यहाँ ठूला आयोजनामा बन्दाबन्दीको अवधिमा काम रोकिएको थियो ।” गाउँपालिकाले गत वर्ष कोरोनाका कारण सम्पन्न शुरु हुन नसकेका र सम्पन्न नभएका योजनालाई चालू आवमा समावेश गरेको जनाएको छ ।

कोरोनाको प्रभावका कारण माछापुच्छ«े गाउँपालिकामा सञ्चालित योजनामा समेत प्रभाव परेको छ । गाउँपालिकामा अधिकांश योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएपनि ठूला योजनामा कोरोनाले असर पारेको छ । गत आवमै सम्पन्न हुनुपर्ने गाउँपालिकाको ‘लाइफलाइनका’ रुपमा रहेको राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरण अन्तर्गत निर्माणाधीन पोखरा–२५ मेलबोटदेखी माछापुच्छ«ेको वडा नं ९ घलेलसम्मको सडक निर्माण आयोजना बन्दाबन्दीका कारण प्रभावित बनेको छ । सो सडक आयोजनामा काम भइरहेकामा बन्दाबन्दी घोषणासँगै काम प्रभावित बनेको थियो ।

भदौ लागेसँगै सो सडकको ढलान निर्माण शुरु भएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी प्रदेश सरकारको प्रदेश राजधानी शहरबाट गाउँपालिका केन्द्र जोड्ने मिलनचोक, मर्दीपुल, बानेटाकुरा हुँदै गाउँपालिका केन्द्र जोड्ने रु १० करोड लागतमा निर्माणाधिन सडक समेत बन्दाबन्दीले प्रभावित बनेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन् ।

त्यसैगरी वडा नं २ र ३ जोड्ने गरी सेती नदी माथि रातोपानीमा निर्माण हुने पक्की मोटरेवल पुल, प्रदेश सरकारबाट विनियोजित बजेटबाट धिताल र भेँडाबारी जोड्ने पक्की पुल लगायत अन्य संघ र प्रदेश सरकारबाट बजेट विनियोजन गरिएका योजना समेत बन्दाबन्दीले प्रभावित बनेको उनले बताईन् ।

कोरोना महामारीका बाजुद कास्कीको अन्नपूर्ण गाउँपालिकाले अघिल्लो आर्थिक वर्षका लक्षित योजना अधिकांश सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए । गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष सात किमी २०० मिटर ढलान बाटो निर्माण गरेको छ । गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा ११ किलोमिटर सिंढीबाटो सम्पन्न गरिएको छ ।

कोरोना भाइरसले पारेको जनजीवनमा पारेको प्रभाव मेतलाई दृष्टिगत गर्दै रोजगारमा आधारित कार्यक्रम अन्तर्गत उक्त कार्य सम्पन्न भएको अधिकारीले जानकारी दिए । अघिल्लो आ.व.मा गाउँपालिकाले १७ वटा चौतारो, १३ वटा पोखरी निर्माणका साथै तीन किलोमिटर बाटो ग्राभेल गरी नाली निर्माण सम्पन्न गरेको थियो । अघिल्लो आर्थिक वर्षमा सोलिङ भएको सात किलोमिटर बाटो यस वर्ष ढलान गरिने अधिकारीले जानकारी दिए ।

गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ८४४ घरधुरीमा एक घर एक धारा योजना सम्पन्न गरिसकेको छ । चालू आर्थिक वर्षका कार्यक्रम पनि अघि बढीरहेको बताउँदै उहाँले गाउँपालिकाको ठूलो योजनाका रुपमा रहेको काँडे–भदौरे–सल्यान सडकको टेन्डर आह्वान भैसकेको जानकारी दिए । उक्त योजना साढे चार कारोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । कोरोना सङ्क्रमणका बाबजुद चालु आर्थिक वर्षमा गाउँपालिकाले गाउँपालिकाका केन्द्र र वडा केन्द्रलाई जोड्ने रणनीतिक महत्वका सडकको स्तरोन्नति गर्ने, स्थानीय सडक निर्माण तथा सडक पूल तथा झोलुङ्गे पूल निर्माण गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

कास्कीको रुपा गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा कोरोना सङ्क्रमणका बाबजुद ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो । त्यस अघि आर्थिक वर्ष २०७५÷०७६ मा ९२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको भए पनि गत आ.व.मा कोरोना सङ्क्रमणले अपेक्षित वित्तीय प्रगति हुन नसकेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।

गाउँपालिकामा रहेका ठूला योजनालाई कोरोनाले प्रत्यक्ष प्रभाव पारेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको ठूलो योजनाका रुपमा रहेको वहुवर्षीय योजना अन्तर्गतको रामकोट–रामदी सडकमा कोरोनाले प्रत्यक्ष प्रभाव पारेको अध्यक्ष ओझाले बताए ।

साढे आठ करोड रुपैयाँ लागतको उक्त योजना अघिल्लो आर्थिक वर्षमा ३३ प्रतिशत काम सम्पन्न गर्ने भनिएकोमा २७ प्रतिशत मात्र सम्पन्न भएको उहाँले बताउनुभयो । कोरोनाका कारण गाउँपालिका भित्रका बेगनास–भोर्लेटार सडक, मादी करिडोर, शिशुवा–पोल्याङटार सडक, चक्रपथ निर्माण जस्ता तथा योजनाकार्यक्रमलाई प्रभावित बनाएको छ ।

चालु आर्थिक वर्षमा लक्षित योजना समयमा नै सम्पन्न गर्ने लक्ष्यका साथ कामहरू तीव्रताका साथ अघि बढाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस आर्थिक वर्षको प्रारम्भमा नै देउराली ज्येष्ठ नागरिक मनोरञ्जन घर, सिंढी बाटो, दुईवटा खानेपानी आयोजना जस्ता योजना तथा कार्यक्रम सम्पन्न गरिसकेको अध्यक्ष ओझाले जानकारी दिए ।

त्यस्तै पोखरा महानगरपालिकामा पनि कोरोना भाइरसको महामारीले विकास निर्माणका कार्यक्रम प्रत्यक्ष प्रभावित पारेको छ । अघिल्लो आर्थिक वर्षको चैतदेखि असार मसान्तसम्म भएको बन्दाबन्दीले लक्षित कार्यक्रमलाई प्रत्यक्ष असर पारेको महानगरपालिकाका बरिष्ठ इन्जिनियर एवम् योजना महाशाखा(प्राविधिक) प्रमुख शारदामोहन काफ्लेले जानकारी दिए ।

महानगरपालिका भित्रमा अघिल्लो वर्ष सम्पन्न हुनुपर्ने वडा एवम् नगरस्तरीय १०२ वटा कार्यक्रम कोरोनाका कारण प्रभावित भए पछि म्याद थप गरेर अघि बढाइएको उनले बताए ।
महानगरबाट सञ्चालित सञ्चालित साना योजनालाई धेरै प्रभाव नपारे पनि ठूला योजनालाई प्रत्यक्ष प्रभावित बनाएको उनको भनाई छ । कास्की जिल्ला भित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थलको काममा कोरोनाले समस्या पारे पनि त्यसका बाबजुद निर्धारित समयमा नै सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । विमानस्थलभित्र टर्मिनल भवन, ह्याङगर, धावनमार्ग, पार्किङ, पौंचमार्गसहित १४ वटा भवन निर्माणका अधिकांश काम सम्पन्न भैसकेका छन् ।

Comments
Loading...