काठमाडौँमा नेकपाको शक्ति प्रदर्शन,ओलीलाई सडकबाटै परास्त गर्ने प्रचण्ड–माधव नेपालको उद्घोष

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ ।

दोस्रो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव पक्षले शुक्रबार उपत्यकाका विभिन्न नौ स्थानबाट हजारौँको संख्यामा आफ्ना नेता कार्यकर्ता भेला गरेर काठमाडौँको भृकुटीमण्डपमा विशाल सभासमेत गरेको छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता घनश्याम भुषालले जनताको बलमा ओलीको प्रतिगामी कदम परास्त गरेरै छाड्ने दाबी गर्नुभयो । केपी ओलीको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संसदबिरुद्धको प्रहारबाट जोगाउन संघर्षको विकल्प नभएको भनाई नेताहरुको छ ।

अध्यक्ष प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएको बताउँदै परिवर्तनकारी शक्तिहरु मिलेर प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि वाम गठबन्धन बनाएर झण्डै दुई तिहाइ बहुमत हासिल गरेपछि देशको आर्थिक विकासमा केन्द्रीत हुने गरी पार्टी एकता गरिएपनि ओलीका गलत कृयाकलाप र स्वेच्छाचारी प्रवृत्तिले मुलुक उल्टो दिशामा गएको भनाई अध्यक्ष प्रचण्डको छ ।

अध्यक्ष माधवकुमार नेपालले फेरि ओलीसँग मिल्छन् कि भनेर अन्य पार्टीहरुले आशंका गरेपनि त्यो सम्भावना नरहेको बताउँदै सिंगो देश ओलीका विरुद्ध रहेको भन्दै ओलीसँग अरिङ्गाल र साइबर सेना मात्रै रहेको दावी गर्नुभयो । ‘ओलीको विरुद्धमा सिंगो देश उभिएको छ । ओलीको पक्षमा साइवर सेना र अरिंगालमात्रै छन् । हाम्रो विशाल पार्टीसँग ओलीका अरिंगाल र साइबर सेनाले लड्ने क्षमता राख्दैनन् अध्यक्ष नेपालले भन्नुभयो ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आधिकारिक नेकपा प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टी नै भएको भन्दै त्यसका लागि जनता को सँग छन् भन्ने हेर्न सडकमा आउन आग्रह गर्नुभयो ।

‘म केपी ओलीलाई कुन पार्टी आधिकारिक हो भन्ने कुरा सडकमा आएर हेर्न सभामा सम्बोधनको सुरुवात गर्दै नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङले देश नचल्ने बताउनुभएको थियो ।

Comments
Loading...