कृषि र पशुपन्क्षीतर्फका रिक्त दरवन्दी पूर्ति गर्न मुख्यमन्त्री समक्ष नेल्टाको माग

हिमाली आवाज । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले गण्डकी प्रदेशमा रिक्त कृषि तथा पशुपन्क्षीतर्फका पदमा स्थायी पदपूर्ति गर्न माग गरेको छ ।

नेल्टा गण्डकीको टोलीले आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाउँदै रिक्त पदमा प्रदेश लोकसेवा आयोग मार्फत स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाउन माग गरेको छ ।सङ्घीयता कार्यान्वयनपछि निजामती कर्मचारीको समायोजनमा अधिकाँस कर्मचारीले सङ्घ रोजेकाले प्रदेश र स्थानीय तहमा कृषि र भेटेरिनरीका दरवन्दी लामो समय रिक्त भएको नेल्टाले जनाएको छ ।

प्रदेश र स्थानीय तहमा कृषि तथा पशु सेवातर्फका स्वीकृत अधिकाँस दरवन्दीहरु रिक्त हुँदा प्राविधिक जनशक्तिको अभावमा पशुपालक कृषक तथा कृषिमा आवद्ध कृषकले समयमै प्राविधिक सेवा प्राप्त गर्न नसकेको नेल्टाका केन्द्रीय महासचिव सुरेश कुमार श्रेष्ठले बताउनुभयो ।

महासचिव श्रेष्ठले भन्नुभयो,“ कृषि र पशुसेवातर्फका प्राविधिक पदमा लामो समयदेखी दरवन्दी रिक्त भएपनि पदपूर्ति हुन सकेको छैन । प्रदेश लोक सेवा आयोग मार्फत पदपूर्ति गरी पशुपालक कृषकहरुलाई सेवा प्रवाहको वातावरणका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका हौँ ।”

सो अवसरमा मुख्यमन्त्री नेपालीले नेल्टाको माग जायज रहेकाले त्यसलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । प्रदेश लोक सेवा आयोगले अहिले रिक्त दरवन्दीका बारेमा डाटा संकलनको काम गरिरहेको र आगामी भदौमा पदपूर्ति प्रक्रिया अघि बढाइने विश्वास मुख्यमन्त्रीले दिलाउनुभएको नेल्टा गण्डकीका अध्यक्ष सहदेव पौडेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

Comments
Loading...