राप्रपा कास्कीको जिल्ला अधिवेशन : अध्यक्षमा नारायण गुरुङ 

 

सूर्य बाँस्तोला

हिमाली आवाज । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नारायण गुरुङलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख सांसद राजेन्द्र लिङदेलले राप्रपाको एजेण्डा राम्रा हुँदाहुँदै पनि एजेण्डालाई स्थापित गर्न नसक्दा तल परिरहेको बताउँदै ठूला भनाउँदा दलहरुका कुनै एजेण्डा नभएको हुँदा पार्टीको एजेण्डालाई स्थापित गर्न सम्पूर्ण कार्यकर्ता पंक्तिलाई आग्रह गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपलिकाका मेयर डा. धवल शमशेर राणाले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र नेपालको लागि अपरिहार्य भएको बताउँदै देशले वैकल्पिक शक्ति खोजेको र राप्रपा बाहेक अरु हुनै नसक्ने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय कोषाध्यक्ष चन्द्र बहादुर गुरुङ, बरिष्ठ नेता जगत गौचन, प्रदेश अध्यक्ष हेमजंग गुरुङ लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य, गण्डकी प्रदेश अध्यक्ष, महानगर अध्यक्ष, गाउँपालिका अध्यक्ष लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

अध्यक्ष डा. महेन्द्र बहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन सचिव हरि प्रसाद बरालले गर्नुभएको थियो ।

Comments
Loading...