सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ । काठमाडौं, तारकेश्वर नगरपालिका–७ फुटुङ्गस्थित सडकमा बा.३५ प ५२५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर एक जनाको निधन भएको छ ।

बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–८ गैरीगाउँ बस्ने नुवाकोट तादी गाउँपालिका–३ घर भएका ३० वर्षीय सुरेश लामाको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाईते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीस्थित जयबाबा इँटाभट्टा उद्योगको कम्पाउण्डभित्र को.१ ख ५४५१ नम्बरको टिपरको ठक्करबाट सोही इँटाभट्टामा काम गर्ने भारत वेस्ट बंगाल घर भएका रफिकुल इस्लामकी ९ वर्षीया छोरी बबिता खातुनको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...